पछिल्लो २४ घण्टामा मात्रै ५८ हजारले छोडे उपत्यका - Chaitanya News
  • 2026-04-26
  • 10:47:06
  • आइतबार,बैशाख १३, २०८३
  • पछिल्लो २४ घण्टामा मात्रै ५८ हजारले छोडे उपत्यका

    पछिल्लो २४ घण्टामा मात्रै ५८ हजारले छोडे उपत्यका

    काठमाडौं– पाँचथरको फिदिम नगरपालिका– ५, जोरसालका सञ्जय खनाल भोट हाल्नका लागि बिहीबार काठमाडौंबाट घर हानिए। उमेर पुगेदेखि नै कुनै चुनाव नछोडेका उनी सही उमेदवारलाई छान्न चुनावमा भोट हाल्नुपर्ने बताउँछन्।

    ‘गाउँ जाने गाडी साथीहरूले रिजर्भ गरेका रहेछन् । सबै सँगै जाने भएपछि म बिहीबार नै निस्किएँ,’ उनले भने।

    पछिल्लो केही दिनदेखि चुनावका लागि सञ्जयजस्ता हजारौँ व्यक्ति आफ्नो गाउँ गइरहेका छन्। पछिल्लो २४ घण्टामा मात्रै ५८ हजारले उपत्यका छोडेको काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता राजेन्द्रप्रसाद भट्ट बताउँछन्।

    ‘सवारी चाप केही बढेको छ। कोटेश्वर, बालाजु र कलंकीलगायत क्षेत्रमा यात्रुको चाप देख्न सकिन्छ । सार्वजनिक यातायातमा जाने र रिजर्भमा जानेको संङ्ख्या पनि उच्च छ,’ उनले भने।

    भोलिसम्म पनि ट्राफिक चाप उच्च हुने उनको अनुमान छ। ‘आजदेखि बिदा भएको कारणले भोलिसम्म यात्रुको चाप धेरै हुने अनुमान छ। दसैँतिहारजस्तो धेरै भिड नहुने भएकाले हाम्रो नियमित व्यवस्थापनले धानिरहेको छ,’ उनले भने।

    चुनावकै लागि भनेर उपत्यकाबाट करिब ६–७ लाख बाहिरिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासघंका वरिष्ठ उपाध्यक्ष सरोज सिटौला बताउँछन्।

    ‘चुनावकै लागि भनेर २४–२५ गतेदेखि घर जान थालिसकेका थिए। व्यक्तिगत रूपमा जानेको संख्या पनि उत्तिकै छ र रिजर्भमा जानेको संख्या पनि उस्तै उत्साहजनक छ,’ उनले भने। चुनावका कारण यातायात क्षेत्र पनि केही चलायमान भएको उनी बताउँछन्।