काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सरकार विस्तार गरेका छन्। नियुक्तिको चार महिनापछि कार्कीले दोस्रो पटक सरकार विस्तार गरेका हुन्।
आज (शुक्रबार) उनले चार मन्त्री र दुई राज्यमन्त्री थपे। नेपाली काँग्रेसबाट प्रदीपकुमार सुनुवार र रामकुमार खत्रीलाई मन्त्री बनाए। सुनुवारले स्वास्थ्य र खत्रीले उद्योग कृषि तथा सहकारी विकास मन्त्रालयको जिम्मेवारी पाए।
माओवादी केन्द्रबाट राजेन्द्र कार्की र नारायण मगर मन्त्री बने। कार्कीले सामाजिक विकास र मगरले खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन्।
आर्थिक मामिला तथा योजना राज्यमन्त्रीमा इन्दिरा थापा र आन्तरिक मामिला तथा कानुन राज्यमन्त्रीमा सुनिता कुमारी गुरुङ नियुक्त भए। उनीहरू दुवै काँग्रेसका हुन्।
वर्तमान सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्रीमा शम्शेर राई, पर्यटन, वन तथा वातावरणमन्त्रीमा गणेश उप्रेती र भौतिक पूर्वाधार विकासमन्त्रीमा कमलप्रसाद जबेगु मन्त्री छन्।
६ जना थपिएपछि मन्त्रीपरिषद् १० सदस्यीय भएको छ।