काठमाडौँ– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले लामो भाषण गर्ने प्रवृत्ति अन्त्य गर्नुपर्ने बताएका छन्।
आज (शुक्रबार) नेपाली काँग्रेस काठमाडौँ जिल्ला सम्मेलनको उद्घाटन गर्दै उनले लामो भाषण गर्नेहरूप्रति इङ्गित गर्दै भाषण सुन्ने मानिसहरू खाली भएपनि नेताहरू भाषण गरिरहेको देखिएको बताए।
उनले भने, ‘मान्छे बाँकी कोही छैन, के बोल्नु। के अवस्था भइसक्यो भने मान्छे बोल्दा बोल्दा हल खालि भइसकेको हुन्छ, सबैकुरा स्पष्ट सुनाउनु पनि छ। कुरा सुनाउन पनि कहिले काहीँ भित्तालाई पनि सुनाउनुपर्ने हुन्छ ।’
उनले उद्घोषकलाई मात्रै भाषण सुनाउने काम बन्द गर्नुपर्ने आशय व्यक्त गरे। उनले नेताहरू आफ्ना कुरा राखेर हिँडिसकेपछि व्यंग्य गर्दै सबै हिँडिसकेपछि बोल्नुको अर्थ नरहने बताए।
‘एक जना बसेको हुन्छ। अनि धन्यवाद है तपाई त लास्टसम्म बस्नुभयो भन्छन्। तपाईँको भाषण सुन्न होइन माइकका लागि लिन आएको हो। माइक मैले दिएको हो भन्ने बेला छ।’ उनले भने।