मौन अवधिमा भीम रावल अछाममा - Chaitanya News
  • 2026-04-22
  • 01:37:29
  • मंगलबार,बैशाख ०८, २०८३
  • काठमाडौं– नेकपा एमालेका नेता डा.भीमबहादुर रावल प्रतिनिधि र प्रदेशसभा मतदानको तीन दिन अघिमात्रै गृह जिल्ला अछाम पुगेका छन्। मंसिर ४ मा मतदान गर्न उनी बिहीबार राति ९ बजे अछाम पुगेका हुन्। ०४८ सालदेखि अछामको राजनीतिमा केन्द्रमा रहेका रावल यो पटक निष्क्रिय जस्तै बसेका छन्। त्यसैले हुनसक्छ बिहीबार मध्यराति १२ बजेबाट चुनावको स्थिर समय (मौन अवधि) सुरु हुनु केहीघण्टा अघिमात्रै एकल रुपमा अछाम पुगे।

    यसअघिका चुनावमा जित्न र जिताउन खट्ने रावल यसपटक तटस्थ देखिन्छन्। ०४६ मा बहुदल आएपछि २०४८ को आम निर्वाचनमा पहिलोपटक चुनावी प्रतिस्पर्धा गरेका रावल त्यसबेला पराजित भएका थिए। २०५१ सालमा अछामबाटै निर्वाचित भएका उनी २०५६ को आम निर्वाचनमा दोस्रो पराजय भोगेका थिए। त्यसपछि २०६४ मा भएको संविधानसभा निर्वाचनमा समानुपातिकतर्फका सदस्य भएका रावल २०७० र २०७४ मा निर्वाचित भएका थिए।

    यो पटक रावल उम्मेदवार हुनबाटै बञ्चित भए। एमालेको जिल्ला र प्रदेश कमिटीबाट एकल सिफारिस भएका रावलको विकल्पमा एमालेबाट झपट बोहरा चुनावी मैदानमा छन्। एमाले अध्यक्ष केपी शर्मा ओलीले अछाम–१ मा रावललाई पन्छाएर बोहरा रोजेपछि एमाले अछाम–१ मा खासै उत्साह छैन।

    यो पटकको चुनावमा अन्तिम समयमा नेता रावल अछाम पुग्ने जानकारी पाएपछि एमाले अछामले स्वागत गर्ने तयारी गरेको थियोे। अछाम– १ का एमाले प्रदेशसभा उम्मेदवार देवबहादुर कुँवरका अनुसार साँफेबगरबाट जयगढसम्म रावलको स्वागतमा मोटरसाइकल ¥याली निकाल्ने तयारी थियो। तर एमालेको स्वागत अस्वीकार गर्दै रावल राति ९ बजे मात्र अछाम पुगे।

    कुनै पनि चुनावी गतिविधिमा सहभागी नभएर रावल साँफेबगर नगरपालिका– ६ स्थित बागेश्वरको निजी घरमा पुगेका थिए। यो कुरा थाहा पाएका एमाले कार्यकर्ताहरु शुक्रबार विहानै उनलाई भेट्न रावल निवास पुगेका थिए। शुक्रबार रावललाई भेटेपछि उनीहरुले स्वागत गर्ने अवसर नदिएकोमा गुनासो समेत गरे।

    कुँवरले भने, ‘मोटरसाइकल र्‍यालीसहित स्वागत गर्ने योजना थियो। स्वागत गर्ने अवसर दिनु भएन भनेर मैले भनेँ । उहाँले चुनावमा त्यस्तो राम्रो हुँदैन थियो भन्नुभयो।’ उनका अनुसार अनुसार भेटघाटमा रावलले कुनै राजनीतिक संवाद गरेनन्।

    ‘नेताजीले भोट हाल्न मात्र आएको हुँ भन्नुभयो । राजनीतिक कुरा गर्नु भएन। सुखाहा, दुखाहा (सुख–दुःख)का कुरामात्र भए’, कुँवरले भने। रावलले मतदान गर्ने बाहेक अछामका भूकम्प पीडित भेट्ने कार्यतालिका छ। कात्तिक २३ को भूकम्पले चौरपाटी गाउँपालिका र साफेबगर नगरपालिकाका केही घरमा क्षति पुर्याएको थियो। सम्भव भएसम्म सबै भूकम्प पीडितलाई भेट्ने रावलले योजना बनाएको रावल निकट प्रकाश शाहले बताए। अछाम बसाईका क्रममा नेता रावल आफ्नो मामाघर जमालगाउँ जाने कार्यक्रम पनि छ।

    ‘मामा बिरामी हुनुहुन्छ। उहाँलाई भेट्छु। म योपटक सामाजिक भेटघाट मात्र गर्छु भन्नुभयो,’ नेता रावलको भनाइ उद्धृत गर्दै शाहले भने। मंसिर ४ गते मतदान गरेर लगत्तै रावल काठमाडौं फर्किने बुझिएको छ।