सांसदहरूको औँठाछाप लिइयो, फागुन ६ गतेदेखि प्रतिनिधिसभामा ई–हाजिरी - Chaitanya News
  • 2026-07-14
  • 01:30:39
  • सोमबार,आषाढ २९, २०८३
  • सांसदहरूको औँठाछाप लिइयो, फागुन ६ गतेदेखि प्रतिनिधिसभामा ई–हाजिरी

    सांसदहरूको औँठाछाप लिइयो, फागुन ६ गतेदेखि प्रतिनिधिसभामा ई–हाजिरी

    काठमाडौँ– प्रतिनिधिसभाका सांसदहरुको विद्युतीय हाजिरी लिनका लागि सङ्घीय संसद् सचिवालयले सांसदहरूको औँठाछाप लिने काम सकेको छ। संसद् भवनमा विभिन्न ठाउँमा झन्डै ८ वटा हाजिरी मेसिन राखिने, ती मेसिनहरूमा हुने हाजिरी एउटै एपमा आउने र वेबसाइटमा हेर्न मिल्ने पद्धति व्यवस्थापनको काम भइरहेको सङ्घीय संसद्का प्रवक्ता एकराम गिरीले जानकारी दिए।

    विद्युतीय हाजिरी मेसिनमा सांसदहरूको औँठा छाप, आँखाको रेटिना स्क्यान गर्ने काम सकिएको छ। सचिवालयका प्रवक्ता गिरीले भने– ‘प्रतिनिधिसभाका माननीयहरूको विद्युतीय हाजिरी लिने प्रणालीको प्राविधिक पक्षमा काम भइरहेको छ। सम्भवतः संसद्को अर्को बैठकबाट विद्युतीय हाजिरी लिने प्रणाली सुरु गर्ने प्रयास गरिरहेका छौँ। हाजिरी मेसिन धेरै भएकोले सफ्टवेयर प्रणालीमा हाजिरीलाई एकीकृत गर्ने र वेब प्रणालीमा लिङ्क गर्ने प्रणालीमा काम भइरहेको छ। फागुन ६ गतेको बैठकसम्म सक्ने तयारी छ, ६ गतेसम्म सकिएन भने १० गतेको बैठकसम्म यो प्रणाली सुरु गर्ने लक्ष्य लिएका छौ ।’

    प्राविधिक कारणले गर्दा केही ढिलाइ भएको उनले बताए। सांसदहरूले बैठक कक्ष बाहिर तथा भित्र उपयुक्त स्थानमा गएर सहज ढङ्गले हाजिरी गर्ने प्रबन्ध गरिएको उनले बताए। प्रतिनिधिसभाको क्यालेन्डर निर्माणको क्रममा पनि प्रतिनिधिसभाका सांसदहरूको विद्युतीय हाजिरी लिने र वेबसाइटमार्फत सार्वजनिक गर्ने कार्यसूची बनाइएको थियो। प्रतिनिधिसभाका १७२ सांसदहरूको औँठाछाप र आँखाको रेटिना स्क्यान गर्ने काम सकिएको छ।