काठमाडौँ– आम जनता पार्टी (आजपा) का प्रभु साहले मुलुकमा भ्रष्टाचार व्याप्त रहेको बताएका छन्।
आज (बुधबार)प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले भने, ‘देशको आर्थिक अवस्था जर्जर बन्दै गएको छ। आर्थिक अवस्था भयावह छ। देश आर्थिक असफलताको तगारोमा उभिइरहेको छ।
मुलुकमा जसले पनि भ्रष्टाचार गर्ने अवस्था देखिएको भन्दै साहले जहाँ जसले पायो उसले लुट्ने जस्तो स्थिति देखिएको बताए। ‘जति जसको पहुँच छ उसबाट त्यति नै भ्रष्टाचार र लुट चलिरहेको छ’, साहले भने।
सम्पत्ति लुट्नेहरूले पनि स्याबासी पाइरहेको भन्दै उनले भ्रष्टाचारविरुद्ध जनताले नै सशक्त रूपमा आवाज उठाउनुपर्ने बताए।नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको सर्वेक्षणले ६ महिनामा ७ खर्ब रेमिट्यान्स आएको देखाएको भन्दै उनले धेरै रेमिट्यान्स आउँदैमा खुशी हुनु नपर्ने बताए।
‘म सोध्न चाहन्छ ६ वर्ष अगाडि कति युवा विदेश गएका थिए? अहिले कति विदेश गए? अहिले कति युवाहरू विदेशमा काम गरिरहेका छन्? कति युवाले कति कमाउँछन् र तिनबाट कति पैसा आउनुपर्ने हो?जनतालाई बुझाउन जरुरी छ’, सांसद साहले भने।
जिम्मेवारीमा रहेकाहरूबाटै भ्रष्टाचार हुने गरेको उनको भनाइ छ। ‘ठूलो ओहोदाहरू रहेकाहरूले आफू पदमा हुँदासम्म लुट्ने अनि इन्ड हुने बेलामा पीआर र ग्रिन कार्ड लिएर बाहिर जाने? पहुँचवालाको छोराछोरी पहिले नै पठाइ दिने र देशलाई सोहोरेर आफू जाने? उनले सोधे।