काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सहकारी र लघुवित्त संस्थाहरूको कडा नियमन र पीडितहरूको रकम फिर्ता गराउनेलगायतका विषयमा राजनीतिक दलहरूबीच सर्वदलीय बैठक हुनुपर्ने प्रस्ताव गरेका छन्।
लामिछानेले बालुवाटार, बालकोट, बुढानीलकण्ठ र खुमलटार नभई मुसहर वा दलित बस्तीमा सर्वदलीय बैठक गरेर मुलुकका सामू रहेका विभिन्न मुद्दामा सर्वदलीय बैठक गर्नुपर्ने प्रस्ताव राखेका हुन्।
प्रतिनिधि सभाको बुधबारको बैठकमा ठूला र पुराना राजनीतिक दलहरू सत्ता र नियुक्तिका लागि वा भ्रष्टाचारका फाइल खुल्दा सर्वदलीय बैठक गर्ने गरेका भन्दै लामिछानेले मुलुकका मुद्दामा सर्वदलीय बैठकको प्रस्ताव गरेका हुन्। ‘भ्रष्टाचारका फाइल खुल्दा ठूला दलका सर्वदलीय बैठक बस्ने गर्छन् उनले भने।’
त्यस्तो सर्वदलीय बैठकबाट विभिन्न पाँच मुद्दामा छिनोफानो गर्नुपर्ने लामिछानेको भनाइ थियो। त्यसमा सहकारी र लघुवित्तका पीडितहरूको विषयमा पनि सर्वदलीय बैठकबाट निर्णय हुनुपर्ने लामिछानेको भनाइ थियो । ‘सहकारी र लघुवित्त संस्थाहरूको कडा नियमन र पीडितहरूको रकम फिर्ता गर्न, सम्पत्ति रोक्का र जफत प्रक्रिया तुरुन्तै सुरु गर्न, कानुनी प्रशासकीय तदारुकता देखाउन सक्छौँ कि सक्दैनौँ, त्यहीँ ९सर्वदलीय० बैठकबाट पारित गरौँ र सदनमा लिएर आउँ, ’उनले भने।