काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारलाई काम गर्न कसले रोकेको छ भन्दै प्रश्न गरेका छन्। आज (बुधवार) प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन्। यस्तै उनले सत्ता पक्षका सांसदहरूलाई कहाँ बेथिति छ, कहाँ सुधार गर्नुपर्ने सबै थाहा रहेको समेत बताए।
उनले भने– ‘सत्ता पक्षका सांसदको कुरा सुन्दा कहाँ के समस्या छ के विकृति, विसङ्गति छ, के गरे उपलब्धि हासिल गर्न सकिन्छ सबै थाहा रहेछ, मेरो प्रश्न नगरेको चाहिँ किन? हामी नयाँ दलले रोकेको हो त? यदि नयाँ दलले रोकेको हो भने कहाँ रोकेको हो, जानकारी पाउन पाए हुन्थ्यो।’
उनले वर्षौदेखि संसदमा आरोप घोचपेच गर्ने थलो बनाउनुभन्दा अलि फरक ढङ्गले जान आफ्नो प्रस्ताव रहेको बताए। ज्ञान बाँड्ने र घोचपेच गर्ने थलो बनाउने हो भने आफ्नै दलबाट फर्किएर हेर्न उनले आग्रह गरे।
उनले भने– ‘पुराना दलहरूले एक पटक आफ्नो दलभित्र चियाएर हेर्ने हो कि?जहाँ अदालतले फैसला गरेका मान्छेहरू दलको पदाधिकारी रहन्छन्, विश्वविद्यालयलाई राजनीतिबाट मुक्त गर्छु भनेको भाषणलाई कार्यरुप दिनका लागि विश्वविद्यालयमा भातृ सङ्गठन नराख्नका लागि निर्णय गरेर काम अघि बढाउने हो कि? सरकारी जग्गा किर्ते गर्नेहरू, आफ्नै वरिपरि छन् कि? पार्टीगत रूपमा तिनलाई कारबाही गरेर सुशासनको उदाहरण दिने हो कि?नागरिकता किर्ते गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि? सहकारीका ठगहरूलाई कारबाहीको दायरामा ल्याउने हो कि? लामो समय सरकारमै भएजस्तो लाग्छ। राजनीतिमा सरकारमा वर्षौँ हुँदा पनि रोक्यो चाहिँ के ले? नयाँ दलले?नयाँ मान्छेले?
उनले चुनाव हारेका मान्छेलाई राष्ट्रियसभामा लैजान अगुवाइ गरेको, अधिकार प्राप्त निकायले बयानका लागि बोलाउँदा गाडी नभएर नगएको भए गाडी पनि मगाइदिन्थ्यौँ भन्दै उनले काङ्ग्रेसप्रति कटाक्ष समेत गरे। यस्ता दलहरूले सदनमा सुशासन र छेडखानीका कुरा नगर्न आग्रह गरे।