काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अधिकारसँग जोडिएका क्षेत्रमा लगानी अभिवृद्धि गरी जनताको जीवनस्तरमा सुधार्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
आज (आइतबार) सिंहदरवारमा आयोजित मानव अधिकार पुरस्कार वितरण समारोहमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले शिक्षा, स्वास्थ्य, रोजगारीका क्षेत्रमा लगानी विस्तार गरेर मानव अधिकार सुरक्षित सरकार निरन्तर लागि परेको समेत बताए।
सुशासन, पारदर्शीता, जवाफदेहिता, कानुनको शासनको जगमा मानव अधिकारमैत्री व्यवस्था सुनिश्चित गर्नु सरकारको प्राथमिकता भएको प्रधानमन्त्रीले स्पष्ट पारे। उनले मानव अधिकारका क्षेत्रमा काम गर्ने व्यक्ति र संस्थालाई उच्च कदर गर्ने उद्देश्य साथ सरकारले मानव अधिकार पुरस्कार कोष स्थापना गर्ने निर्णय गरेको स्मरण गरे।
अन्तर्राष्ट्रिय रूपमा नेपाल पक्ष भएका सन्धिसम्झौताअन्तर्गतका दायित्वलाई पूरा गर्न सरकार क्रियाशील रहेको बताउँदै प्रधानमन्त्रीले ‘प्रचण्ड’ले भने, “मानव अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय मञ्चहरूमा सक्रिय सहभागिता जनाई मानव अधिकारको सम्मान, संरक्षण र सम्बर्द्धनका लागि विश्वव्यापी रूपमा नै नेपालले ऐक्यबद्धता व्यक्त गर्दै आएको छ।
सङ्घ, प्रदेश र स्थानीय तहको भूमिका निर्धारण गरी तीनै तह र मानव अधिकारको क्षेत्रमा क्रियाशील सङ्घसंस्था, नागरिक समाजको समन्वयमा यससम्बन्धी कार्ययोजना प्रभावकारी कार्यान्वयनलाई जोड दिइएको प्रधानमन्त्री ‘प्रचण्ड’ले जानकारी दिए। उनले मानव अधिकारको सम्मान, संरक्षण तथा सम्बर्द्धनलाई संस्कृतिको रूपमा विकास गरी मानव अधिकारमैत्री गाउँ, समाज र राष्ट्र निर्माण गर्न अपिल गरे।
प्रधानमन्त्री ‘प्रचण्ड’ले यस वर्ष सम्मानित मानव अधिकारको संरक्षण, सम्मान र सम्बद्र्धनको क्षेत्रमा अझ प्रोत्साहित भएर कार्य गर्न हौसला प्रदान गर्नेसमेत विश्वास व्यक्त गरे।