राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी रहन्छ : प्रधानमन्त्री प्रचण्ड - Chaitanya News
  • 2026-07-14
  • 04:30:13
  • सोमबार,आषाढ २९, २०८३
  • राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी रहन्छ : प्रधानमन्त्री प्रचण्ड

    राष्ट्रिय सभा अध्यक्षमा हाम्रो दाबी रहन्छ : प्रधानमन्त्री प्रचण्ड

    काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय सभा अध्यक्षमा नेकपा (माओवादी केन्द्र) ले दाबी गर्ने बताएका छन्।

    आज (मंगलबार) बसेको संसदीय दलको बैठकमा सांसदहरूको धारणामाथि जवाफ दिँदै उनले राष्ट्रिय सभाको ठूलो दलको हैसियतले अध्यक्षमा दाबी प्रस्तुत गर्ने बताएको सांसद माधव सापकोटाले जानकारी दिए।

    त्यस्तै बैठकमा बोल्ने सांसदहरूले राष्ट्रिय सभा निर्वाचनमा नेपाली काँग्रेसले इमानदारिता नदेखाएको बताएका थिए।

    इमानदारिता नदेखाएकैले मत ट्रान्सफर हुन नसकेको र कोशीमा पार्टीकी उम्मेदवार चम्पादेवी कार्की पराजित हुन पुगेको उनीहरूको भनाइ थियो।

    फागुन २९ गते राष्ट्रिय सभा अध्यक्षका लागि निर्वाचन हुँदैछ। नेपाली काँग्रेसले पनि राष्ट्रिय सभा अध्यक्षमा दाबी गरिरहेको छ। कोशीबाट निर्वाचित राष्ट्रिय सभा सदस्य कृष्णप्रसाद सिटौला राष्ट्रिय सभा अध्यक्षका लागि आकांक्षी छन्।

    राष्ट्रिय सभामा माओवादी १७ सांसदसहित ठूलो दल बनेको छ। १६ सांसदसहित काँग्रेस दोस्रो, १० सांसदसहित एमाले तेस्रो र ८ सांसदसहित एकीकृत समाजवादी चौथो दल बनेको छ।

    राष्ट्रिय सभामा जसपाका ३, लोसपा र राष्ट्रिय जनमोर्चाका एक(एक जना सदस्य छन्। सरकारको सिफारिसमा राष्ट्रपतिले मनोनीत गर्ने एक सदस्य अझै रिक्त छ।