इनरुवा– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश सरकारले फरक ढङ्गबाट जनताको समस्यालाई सम्बोधन गर्न विभिन्न काम गरिरहेको जानकारी दिएका छन्। सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–४ मा स्थित जामिया इस्लामिया मदर्सामा सोमबारदेखि सुरुआत भएको चार दिने वार्षिक शैक्षिक तथा सांस्कृतिक प्रतियोगिता कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले भने,’सरकारले प्रदेशको भौतिक पूर्वाधार,शिक्षा, स्वास्थ्य लगायत क्षेत्रमा फरक ढङ्गबाट विपन्न जनतालाई लाभ हुने गरी काम गरिरहेको समेत बताए। ‘
उनले प्रदेश सरकारले १० वर्षमुनिका बालबालिकाका लागि निःशुल्क उपचारको व्यवस्था गरेको बताए।
प्रदेश सरकार दक्ष जनशक्ति उत्पादनमा केन्द्रित रहेको र यस्ता जनशक्तिलाई प्रदेशमै रोजगारीको अवस्था सिर्जना गर्नेसमेत उनले दाबी गरे। कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय सदस्य राजीव कोइराला, प्रदेश सभासदस्य इसराइल मन्सुरी, सदानन्द मण्डल, इनरुवा नगरपालिकाका प्रमुख केदार भण्डारी, भोक्राहा नरसिंह गाउँपालिकाका अध्यक्ष अजमल अख्तर अजादलगायतको सहभागिता थियो।