प्रतिनिधि सभाको १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत, सांसदहरूको विद्युतीय हाजिरी गरिने - Chaitanya News
  • 2026-07-14
  • 04:30:46
  • सोमबार,आषाढ २९, २०८३
  • प्रतिनिधि सभाको १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत, सांसदहरूको विद्युतीय हाजिरी गरिने

    प्रतिनिधि सभाको १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत, सांसदहरूको विद्युतीय हाजिरी गरिने

    काठमाडौँ– प्रतिनिधि सभाले १५ फागुनसम्मको क्यालेन्डर स्वीकृत गरेको छ। आज (सोमबार) बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले सोमबारदेखि १५ फागुनसम्म बैठक बस्ने दिन र त्यस दिन संसदमा छलफल गरिने विषयसहितको क्यालेन्डर स्वीकृत गरेको हो।

    उक्त क्यालेन्डर अनुसार माघ महिनामा २२ र २४ गते बैठक बस्नेछ। त्यसपछि फागुनमा ६ गते, १० गते, ११ गते, १३ गते र १४ गते बैठक बस्नेछ। कार्यव्यवस्था परामर्श समितिको बैठकले बैठक बस्ने दिनमा हुने छलफलको विषय पनि सार्वजनिक गरेको छ।

    सभामुख देवराज घिमिरेले संसदको यसै अधिवेशनबाट कार्यतालिका लागू हुने बताए। उनले सांसदहरूको विद्युतीय हाजिरी गरिने र वेबसाइटमार्फत विवरण सार्वजनिक गर्ने पनि बताए।

    उनले कार्यतालिका लागु हुने भएपछि सांसदहरूलाई सहज हुने बताए। गएको एक वर्षमा एउटा मात्रै विधेयक पारित भएको विषयलाई प्रश्नहरू उठेका छन्। आगामी अधिवेशन ती सबै प्रश्नको समेत जवाफ दिने गरी परिणाममुखी बनाउन अपिल गर्दछु, ‘उनले सांसदहरूलाई भने।

    सभामुख घिमिरेले सांसदहरूको उपस्थिति विवरण दैनिक सार्वजनिक गरेर पारदर्शी बन्ने पनि बताए।

    कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले धेरै गृहकार्य गरेर संसदीय कार्यतालिका लागू गर्ने अवस्थामा पुगेको बताए । बैठक बस्ने दिनका बारेमा हुने द्विविधा अन्त्य गर्न सहयोग पुग्नेछ, उनले भने ।