प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न माग - Chaitanya News
  • 2026-07-14
  • 04:29:40
  • सोमबार,आषाढ २९, २०८३
  • प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न माग

    प्रत्यक्ष निर्वाचित राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणालीका लागि संविधान संशोधन गर्न माग

    काठमाडौँ– पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले नेतृत्व गरेको नेपाल समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति र पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने माग गरेको छ।

    केन्द्रीय समितिको माघ २० मा भएको पाँचौँ पूर्ण बैठकले संविधान विरुद्ध चलखेल सुरु भएको भन्दै संविधानले संस्थागत गरेका राजनीतिक उपलब्धिहरूलाई उल्टाउने प्रतिगामी हर्कतप्रति सचेत रहँदै प्रत्यक्ष निर्वाचित राष्ट्रपति चयन हुने निर्वाचन प्रणालीमा जानुपर्ने निष्कर्ष निकालेको हो।

    ‘राष्ट्रको समृद्धि, जनआकांक्षाहरूको परिपूर्ति र राजनीतिक स्थीरताका निम्ति प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक निर्वाचन प्रणालीको औचित्य पुष्टि भएको हुँदा संविधान संशोधनका निम्ति यो बैठक माग गर्दछ,’ निर्णयमा भनिएको छ, ‘साथै प्रतिगामी, पुनरुत्थानवादी तथा दक्षिणपन्थीहरूबाट लोकतान्त्रिक गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, संविधान र जनताको सार्वभौमिकतामा प्रहार हुनसक्ने स्थितिप्रति सजग रहँदै यो बैठक सम्पूर्ण प्रगतिशील लोकतान्त्रिक समाजवादी शक्तिलाई एकजुट हुन आह्वान गर्दछ।

    नेसपाले समाजवादी शक्तिहरूको वृहत् ध्रुवीकरण गरी नयाँ समाजवादी शक्ति निर्माण गर्न अपिल गरेको छ। विभिन्न समसामयिक प्रस्ताव गर्दै समाजवादी मोर्चाका लागि एकताबद्ध हुन अपिल गरेको छ। ‘पुराना शक्तिहरूको विकल्पमा प्रगतिशील, लोकतान्त्रिक, समाजवादी शक्तिहरूको वृहत् ध्रुवीकरणसहित नयाँ समाजवादी शक्ति निमार्ण गर्नका लागि एकताबद्ध हुन यो बैठक अपिल गर्दछ,’ पारित प्रस्तावमा भनिएको छ।

    नेपाले टीआरसी विधेयकलाई सहमतिका आधारमा अघि बढाउन समेत माग गरेको छ। ‘शान्ति प्रक्रियाको बाँकी कामका रूपमा रहेको सत्य निरूपण तथा मेलमिलाप आयोग, बेपत्ता छानबिन आयोगको कामलाई दलहरू बीच सहमतिका आधारमा प्रभावकारी रूपमा अघि बढाउन र यथाशीघ्र सम्पन्न गर्न यो बैठक माग गर्दछ,’ बैठकको निर्णयमा भनिएको छ।