काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डा. स्वर्णिम वाग्लेले जनताका मुद्धा उठाएर सरकारलाई र्याखर्याक्ती पारिरहेको बताएका छन। भोलि (सोमबार)देखि सुरु हुने संघीय संसदको बैठकमा खराब कानुनहरु विरुद्ध पार्टी आक्रामक रूपमा प्रस्तुत हुने उनले बताए।
संघीय संसदको हिउँदे अधिवेशन सोमबार सुरु हुँदैछ। आइतबार सिन्धुपाल्चोकको मेलम्ची बजारमा मेलम्ची आयोजनाको दबाब यात्राको उद्घाटन कार्यक्रममा सांसदले भने, ‘भोलिदेखि संसद सुरु हुँदैछ। त्यहाँ हामीले एउटा ठूलो तयारीका साथ खराब कानुनहरुका विरुद्ध जेहाद नै छेड्ने तयारी गरिरहेका छौँ ।’
संसदमा प्रभावकारी हुनका लागि शुक्रबार लामो बैठक बसेको उनले सुनाए। वडा, पालिका, प्रदेशमा रास्वपाका जनप्रतिनिधि नभएको र संघमा सरकार बाहिर रहँदा समेत रास्वपाका सांसद नै बुलन्द रहेको उनले दाबी गरे । ‘हाम्रो उपस्थिति भनेको संसदको त्यही २० सांसदहरुले आवाज उठाइरहेका छौँ’, वाग्लेले भने, ‘जनताका मुद्धाहरु उठाइरहेका छौँ। सरकारलाई जबाफदेही बनाइरहेका छौँ। मन्त्रीहरूलाई र्याखर्याक्ती पारिरहेका छौँ।
संघ र प्रदेश गरी ८८४ सांसद रहेकामा सबैभन्दा सुनिने सांसद रास्वपाका २० जना रहेको वाग्लेले दाबी गरे।