काठमाडौँ– नेपाल प्रहरीले गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक दिने भएको छ। अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको हो।
नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन्। बुधबार बसेको प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको छ।
प्रहरीका अन्य पोसाक वितरणलाई थप व्यवस्थित गर्न पनि प्रहरी प्रधान कार्यालयले छलफल थालेको छ । सिभिलमा काम गर्ने प्रहरीलाई अन्य कपडा खरिदका लागि नगद नै दिने तयारी छ। साथै, कतिपय चुस्त र कार्यालयको काममा लगाउने कपडा पनि आवश्यकताअनुसार वैज्ञानिक ढंगले वितरण गर्ने प्रहरी तयारी छ।