काठमाडौं– राप्रपा नेपालका बरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र निर्वाचनको मिति नजिकिँदै गर्दा झनै आक्रामक प्रचार प्रसारमा लागिपरेका छन्। काठमाडौं १ का उम्मेदवार मिश्र बुधबार अनामनगरमा भेटिँदा उनले हरेक घरका मतदाताका अगाडि हात जोड्दै भने, ‘यसपटक त ब्यवस्था बदल्ने नै हो। यहाँले हुन्छ मात्रै भनेर भएन मलाई नै मत हाल्नुपर्यो। राप्रपालाई जिताउनुपर्यो।’
निरन्तर हाँसिरहने रविन्द्रले अनामनगरका बासिन्दा डीआर राईसँग मत माग्दै भने, ‘यहाँ पनि लेखक साहित्यकार हुनुहुँदो रहेछ। हाम्रो विचार र कुरा मिल्छ। अब राजनैतिक विचार पनि मिलाउनुपर्यो। यहाँले मत यसपटक मलाई नै दिनुपर्यो।’
डीआर राईले पनि रविन्द्रको हाँसोमा हाँसो मिलाउँदै भने, ‘हुन्छ हजुर अघिल्लो पटक पनि हजुरलाई नै दिएको हो। यो पटक पनि फरक पर्दैन।’ रविन्द्र आभार ब्यक्त गर्दै फेरि अनामनगरकै अर्का बासिन्दा गणेश अधिकारीकहाँ पुगे।
रविन्द्रले मत माग्दा गणेशले आफ्ना सबै छोराछोरी अमेरिकामा बस्दै आएको र अघिल्लो पटक पनि आँफूले भ्रष्टाचार विरोधी अभियन्ता तथा प्रखर वक्ता रविन्द्रलाई उनीहरुकै आग्रह र घर सल्लहामा रविन्द्रलाई मत दिएको ५ वर्ष अघिको रमाइलो कथा सुनाए। रविन्द्रले हाँस्दै भने, ‘यो पटक त जित्ने नै हो मलाई भोट दिनुहोस्।’
गणेशले ढुक्क हुन आग्रह गर्दै भने, ‘यस पटक त तपाई नै जित्नुहुन्छ।’ यी र यस्ता दृश्य काठमाडौं १ मा दोहोरिइरहे। मतदाताले हुन्छ भने रविन्द्रले मत मागिरहे। नेता मिश्रले कांग्रेसका प्रकाशमान सिंहलाई यसपटक ८ हजार मतान्तरले चुनाव जित्ने दाबी गरेका छन्।
आफू चुनाव जितेपछि गर्व गर्न योग्य सांसद बनेर देखाउने बाचा उनले अनामनगरबासीहरुका सामुन्ने गरे। उनै ह्याभी वेट नेता सिंहसँग सामना गर्नु मिश्रलाई फलामको चिउरासरी हुनेछ। अघिल्लो चुनावमा सिंहले १० हजार ९३६ मत ल्याउँदा विवेकशील साझाका मिश्रले १० हजार ११८ मत मात्र ल्याएका थिए।
तर अहिले उनी राप्रपामा पुगेर राजसंस्थाको एजेण्डा बोकेर चुनावी मैदानमा छन्। काठमाडौं १ बाट सिंह र मिश्रसहित सुशासन पार्टीका रमेश खरेल, एमाले भ्रातृ संगठन युवासंघका अध्यक्ष किरण पौडेल, स्वतन्त्र उम्मेदवार पुकार बम लगायतका चर्चित अनुहारहरु चुनावी मैदानमा छन्।