काठमाडौँ– नेपाली काँग्रेसले संसदमा प्रभावकारी भूमिका निभाउन पार्टीका सांसदहरूलाई निर्देशन दिएको छ। सोमबारदेखि सुरु हुने हिउँदे अधिवेशनको सँघारमा शुक्रबार बसेको संसदीय दलको बैठकमा संसदमा पार्टीको दरिलो उपस्थितिबारे केही निर्णय नै गरिएको प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।
सदन र संसदीय समितिमा गणपूरक संख्या नपुगेको विषयमा बैठकको ध्यानाकर्षण भएको उनको भनाइ छ। समिति बैठकमा, मन्त्री र सांसद अनिवार्य उपस्थित हुन निर्देश गरिएको छ। साथै बैठकभर क्रियाशीलरूपमा भाग लिन पनि भनिएको छ।
सदनको अधिवेशन चल्दासम्म काँग्रेस सांसदले राजधानी छाड्न नपाउने जानैपरे प्रमुख सचेतक र सचेतकबाट लिखित अनुमति लिएर छाड्नुपर्ने निर्देशन दिइएको पनि लेखकले बताए।
बाँकी विधेयक चाँडो लैजान र विचाराधीन विधेयकलाई यही अधिवेशनबाट पारित गर्न सरकारलाई आग्रहसहित अन्य राजनीतिक दललाई पनि आवश्यक भूमिकाको लागि अपिल गर्ने पनि बैठकले निर्णय गरेको छ।