काठमाडौँ– परराष्ट्रमन्त्री एनपी साउदले नेपालमा कोरियाली लगानीलाई स्वागत गर्न तयार रहेको बताएका छन्। आज (मंगलबार) नेपाल र कोरियाको द्वैत्य सम्बन्ध सुरु भएको ५०औँ वर्षगाँठको अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्र्त उनले हाल नेपालमा लगानी गरिरहेका कोरियाली कम्पनीको प्रशंसा समेत गरेका छन्।
‘नेपालमा लगानी गरिरहेका सामसंग टेलिभिजन, हुन्डाई मोटर्सलगायत अन्य कोरियाली लगानीकर्ता कम्पनीहरूको प्रशंसा गर्न चाहन्छु। नेपालमा लगानीको सम्भावना खोज्दै चासो राख्ने कोरियाली कम्पनीहरूले आफ्नो लगानी विस्तार गरेको हेर्ने नेपालको चाहना छ’, मन्त्री साउदले भने, ‘यस वर्षको अप्रिलमा हुने लगानी शिखर सम्मेलनमा कोरियाली लगानीकर्ता र उद्यमीहरूको ठूलो संख्यामा उपस्थिति हुने अपेक्षासहित स्वागत गर्न तयार छौँ।
नेपाल र कोरियाबीच सन् १९७४ मे १५ मा स्थापना भएको कूटनीतिक सम्बन्ध समयसँगै प्रगाढ बन्दै गएको र यो सम्बन्ध मित्रता, सौहार्दता, सहयोग, आपसी सम्मान र साझेदारीमा आधारित रहेको उनको भनाइ थियो। उनले आगामी दिनमा यो सम्बन्ध अझ प्रगाढ हुने आशा व्यक्त गरे।
दुई देशबीच आर्थिक सहयोग विस्तार गर्ने प्रचुर सम्भावना रहेको भन्दै उनले ती सम्भावनाको अन्वेषण गरी द्विपक्षीय व्यापार र लगानी अभिवृद्धि गर्न आग्रह गरे।
कोरियामा हजारौँ नेपाली कामदारहरू रहेको भन्दै उनले अहिले ठूलो संख्यामा नेपाली अध्ययनका लागि पनि कोरिया छनोट गरिरहेको जानकारी गराए। साथै, हजारौँ कोरियाली नागरिक पर्यटकका रूपमा नेपाल आउने गरेका र नेपालमा ठूलो संख्यामा कोरियालीहरूले लगानी गरेकामा पनि आगामी दिनमा नेपाल यसलाई अझ अझ विस्तार गर्न चाहिरहेको बताए।