काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रुग्ण उद्योग सञ्चालन गर्ने तयारीमा सरकार अघि बढेको बताएका छन्।
पर्साको वीरगञ्जमा आइतबार सुरु भएको प्रेस सेन्टर नेपालको केन्द्रीय समिति र राष्ट्रिय परिषद् बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। यस्र्तै उनले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने सरकारले संकल्प गरेको समेत बताए।
हिजोमात्रै दुई वटा नयाँ काम अघि बढाउने निर्णय गरेका छौँ। विराटनगर जुट मिल, हेटौँडा कपडा उद्योग, गोरखकाली रबर उद्योग, बुटवल धागो उद्योगलगायत रुग्ण रहेकालाई अघि बढाउने योजना छ। कतिपय निजी र सार्वजनिक सहकार्य र कतिपय नेपाली सेनालाई सञ्चालन गर्न दिने ठोस निर्णय भएको छ’, उनले भने, ‘यसको परिणाम एक साताभित्र नै राष्ट्रले देख्नेछ। यो सरकारले पुराना उद्योग सञ्चालन गरेर रोजगारी सृजना गर्ने संकल्प गरेको छ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले यो पटक सरकारको नीति तथा कार्यक्रम र बजेटमार्फत सानोतिनो क्रान्ति ल्याउन खोजेको दाबी गरे। त्यसको सुरुवात केही दिनअघि अध्यादेश ल्याएर राष्ट्रपतिबाट अनुमोदन भइसकेको उनको भनाइ छ।
सबैको राय सुझाव सङ्कलन गरेर नीति तथा कार्यक्रम र बजेट निर्माण गर्न सरकार लागिपरेको बताउँदै उनले आगामी नीति तथा कार्यक्रम र बजेट उत्पादन र रोजगारी वृद्धिमा केन्द्रित हुने औँल्याए।