उपकुलपति बस्नेतले भने: वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन - Chaitanya News
  • 2026-05-04
  • 09:04:12
  • सोमबार,बैशाख २१, २०८३
  • उपकुलपति बस्नेतले भने: वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन

    उपकुलपति बस्नेतले भने: वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानबाट छुटाउनु हुँदैन

    काठमाडौँ– चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राध्यापक डा. भूपेन्द्रकुमार बस्नेतले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनु नहुने बताएका छन्।

    आज (सोमबार) सिंहदरवारमा बसेको कानुन, न्याय तथा संसदीय मामिला समितिको बैठकमा बोल्दै उनले वीर अस्पताललाई प्रतिष्ठानबाट छुट्याउनु नहुने बताएका हुन्। यस्तै उनले २०६३ सालमा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आङ्गिक अस्पताल बनाइएको बताउँदै अहिले संसदमा पेस भएको नेपाल ऐन संशोधनका दफा ४४ मा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, २०६३ मा संशोधन गरिएकोप्रति आफूहरूको असहमति रहेको समेत बताए।

    उनले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ऐन, ०६३ को दफा १४ को १ मा संशोधन गरेर वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानसँग छुट्याइनुपर्छु भन्ने पेस भएको बताए। उनले संशोधनले विशेषज्ञ चिकित्सक उत्पादनमा प्रत्यक्ष असर गर्ने बताए।

    ‘कुनैपनि चिकित्सा शिक्षा सम्बन्धी युनिभर्सिटी सञ्चालन हुनका लागि त्यसको आफ्नो अस्पताल हुन अनिवार्य छ। त्यो अस्पतालमा जसरी अन्य विषयको पढाइ, कक्षा कोठामा हुन्छ, त्यसको पढाइ हुने भनेको अस्पतालमा बिरामीको साइडमा बिरामी हेरेर हुने हो, ‘उनले भने, त्यो कुरालाई हृदयंगम गरेर नै २०६३ सालमा यो आउँदा वीर अस्पताललाई चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान आङ्गिक अस्पताल बनाइएको छ।

    उनले नेपाल सरकारका अस्पतालसँग सम्झौता गरेर चलाउने भन्दा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान जुन उद्देश्यले स्थापना भएको हो यसले ट्रेनिङ र पढाइमा असर पुग्ने बताए।