चीनले नेपालबारे तीन विषय उठाँउदा नेपाली नेताले भने–त्यो नेपालको आन्तरिक विषय हो - Chaitanya News
  • 2026-11-14
  • 23:21:14
  • शनिबार,कार्तिक २९, २०८३
  • चीनले नेपालबारे तीन विषय उठाँउदा नेपाली नेताले भने–त्यो नेपालको आन्तरिक विषय हो

    चीनले नेपालबारे तीन विषय उठाँउदा नेपाली नेताले भने–त्यो नेपालको आन्तरिक विषय हो

    काठमाडौँ– नेपालका राजनीतिक दलहरूसँगको अन्तरक्रिया कार्यक्रममा चिनियाँ प्रतिनिधि मण्डलले नेपालबारे तीन विषय उठाएका छन्। आज (आइतबार) काठमाडौँमा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै चिनियाँ नेताहरूले नेपालमाथि तीन विषयमा छलफल उठान गरेका हुन्।

    चिनियाँ कम्युनिस्ट पार्टीकी अन्तर्राष्ट्रिय विभाग विदेश उपमन्त्री सुन हेयानको नेतृत्वमा चीनको प्रतिनिधिमण्डल नेपाल भ्रमणमा छ। सो क्रममा उक्त प्रतिनिधिमण्डलले आज नेपालका सबैजसो राजनीतिक दलका नेतासँग संयुक्त अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ।

    अन्तरक्रिया कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी लगायत राजनीतिक दलका नेताको सहभागिता थियो। सो क्रममा विदेश उपमन्त्री हेयानले नेपालले व्यावसायिक वातावरण सुधार गर्न जरुरी रहेको बताइन्।

    उनले नेपाल आउनुअघि चीनका व्यवसायीसँगको छलफलका क्रममा नेपालको व्यावसायिक वातावरण र व्यावसायिक नीति अस्थिर रहेको जानकारी पाएको बताइन्। चिनियाँ व्यवसायी नेपालमा लगानी गर्न इच्छुक रहे पनि नेपालको नीतिगत अस्थिरताका कारणले लगानी गर्न असक्षम रहेको उनको भनाई थियो।

    यस्तै, नेपालमा चीनले सञ्चालन गर्दै आइरहेको विकास परियोजनाको विषयमा समेत चिनियाँ प्रतिनिधिले कुरा उठाएका छन्। उनीहरुले नेपालमा चीनले सञ्चालन गर्दै आइरहेको परियोजनामा विदेशी शक्तिले गिजोल्न चाहिरहेको तथ्यबारे बोलेका हुन्। विदेशी शक्तिले नेपालको परियोजना गिजोलेर जाने र त्यसले नेपालको विकाससँगै चीनसँगको सम्बन्धमा समेत असर पर्ने उनीहरूको भनाई थियो।

    यसबाहेक, नेपालका नेताहरू आन्तरिक कलहमा रमाइरहेको विषय समेत चिनियाँ प्रतिनिधिमण्डलले उठाएको छ। उनीहरुले नेपालका नेताहरू आन्तरिक कलह र झैँ झगडामा रमाउने गरेको र त्यसबाट देशको विकासमा प्रत्यक्ष असर परेको चिनियाँ प्रतिनिधिमण्डलको भनाई थियो। चिनियाँ प्रतिनिधिमण्डलले अब मिलेर अघि बढ्न नेपालका नेताहरूलाई सुझाव समेत दिएका छन्।

    चिनियाँ प्रतिनिधिमण्डलले उठाएका तीन विषयमा जवाफ दिँदै नेपाली नेताहरूले व्यावसायिक वातावरण सुधार गर्न नेपाल तयार रहेको बताए। यसका लागि नेपालले नीतिगत सुधार गर्नतर्फ ध्यान दिएको र आवश्यकताका आधारमा कानुनी व्यवस्था समेत सुधार गर्दै जाने बताए। ‘नेपाल आफ्नो व्यावसायिक वातावरण सुधार गर्न तत्पर छ,’ नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले भने।

    चिनियाँ परियोजना विदेशीले गिजोल्ने गरेको भन्ने विषयमा जवाफ दिँदै सकेसम्म यस्तो हुन नदिने नेपाली नेताको प्रतिबद्धता छ। उनीहरुले नेपालको विकासमा चीनको सहयोग महत्त्वपूर्ण भएकाले विदेशी शक्तिलाई चिनियाँ परियोजनामाथि खेल्न नदिने समेत बताए। यसबाहेक नेपाली नेता आन्तरिक कलहमा रमाउने गरेकोबारे जवाफ फर्काउँदै यो नेपालको आन्तरिक विषय भएको नेताहरूले बताएका छन्।

    नेपाली नेताहरू आन्तरिक कलह मात्रै नगर्ने भएकाले आवश्यक पर्दा राष्ट्रिय सहमति गर्न समेत एक जुट हुने उनीहरूको तर्क थियो।