काठमाडौँ– राष्ट्रिय सभा निर्वाचनमा गण्डकी प्रदेशबाट गठबन्धनका तीनजना उम्मेदवार विजयी भएका छन्। आज (बिहीबार) साँझ सार्वजनिक मतपरिणाम अनुसार अन्य क्लस्टरमा काँग्रेसका किरणबाबु श्रेष्ठ, अपांगता–अल्पसंख्यकतर्फ पदमबहादुर परियार र महिलातर्फ माओवादी केन्द्रकी मनरुपा शर्मा विजयी भएका हुन्।
श्रेष्ठले ३ हजार ८ सय ८ मत ल्याउँदा उनका निकटतम प्रतिस्पर्धी एमालेका चक्रबहादुर पराजुलीले २ हजार ४ सय ७७ मत पाए। अपांगता(अल्पसंख्यकतर्फ काँग्रेसका परियारले ३ हजार ७ सय ७९ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी एमालेका हेमन्द्र शेरचनले २ हजार ४ सय ५८ मत ल्याए। महिलातर्फ माओवादी केन्द्रीकी शर्माले ३ हजार ६ सय ६० मत ल्याएर विजयी भइन्। उनकी निकटतम प्रतिस्पर्धी एमालेकी सम्झना देवकोटाले २ हजार ५ सय ५३ मत पाइन्।
गण्डकीमा मतदाताको कुल मतभार ६ हजार १ सय ४० थियो। गण्डकीमा ६० जना प्रदेशसभा सदस्य तथा ८५ स्थानीय तहका प्रमुखरउपप्रमुख, अध्यक्षरउपाध्यक्ष १ सय ७० गरी कुल २ सय ३० जना मतदाता थिए । गठबन्धनमा आबद्ध दलहरूको मतभार ३ हजार ८ सय २७ थियो। यद्यपि, तीनवटै उम्मेदवारले यस बराबरको मत पाएनन्। केही मत बदर भएको थियो भने केही मतदातामा ‘भोट क्रस’ समेत गरेका थिए।
बिहीबार २ सय ३० मतमध्ये २ सय २९ मत खसेको थियो । सहकारी ठगीमा फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपाली मतदानका लागि आएनन्। बागलुङ र पोखरामा रहेको इमेज बचत तथा ऋण सहकारी संस्थाको झण्डै २ अर्ब रुपैयाँ अपचलन गरेको आरोप उनी माथि छ।
गण्डकीमा राष्ट्रिय सभाको रिक्त ३ क्लस्टरका लागि गठबन्धनका ३, एमालेका ३ र राप्रपाका २ सहित ८ जना उम्मेदवार चुनावी मैदानमा थिए।