काठमाडौँ– सुदूरपश्चिम प्रदेशमा राष्ट्रिय सभा सदस्यको निर्वाचनमा प्रदेश सभा सदस्यहरूको मतदान सकिएको छ। ५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिममा एक जनाको निधन भएपछि अहिले ५२ जना छन्।
उनीहरू सबैले मतदान गरेको मतदान केन्द्रले जनाएको छ। केन्द्रका अनुसार सबैभन्दा पहिले माओवादी केन्द्रका सांसद ओमविक्रम भाट ‘सरल’ र अन्तिममा नागरिक उन्मुक्तिका सांसद लक्ष्मण किशोर चौधरीले मतदान गरेका थिए।
अर्को मतदान केन्द्रमा अहिले पनि मतदान जारी छ । त्यहाँ तीन जनाले मतदान गर्न बाँकी रहेको छ। यहाँ ५२ जना प्रदेश सभा सदस्य र १७५ जना स्थानीय तहका प्रमुख तथा उपप्रमुख गरी २२७ जना मतदाता रहेका छन् ।
सत्ता गठबन्धनबाट अन्यतर्फ नेपाली काँग्रेसका बलदेव बोहरा, अपाङ्ग तथा अल्पसङ्ख्यक क्लस्टरतर्फ काँग्रेसकै नारायणदत्त भट्ट र महिला क्लस्टरतर्फ माओवादीकी रेणु चन्द उम्मेदवार छन्।
एमालेले भने अन्यतर्फ ईश्वरी खरेल, महिलातर्फ सावित्री घिमिरे र अपाङ्गतातर्फ रामचन्द्र जोशी उम्मेदवार छन्।