मेयर बालेन शाहले गरे मतदान बहिष्कार - Chaitanya News
  • 2026-11-14
  • 23:51:20
  • शनिबार,कार्तिक २९, २०८३
  • मेयर बालेन शाहले गरे मतदान बहिष्कार

    मेयर बालेन शाहले गरे मतदान बहिष्कार

    काठमाडौँ– काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाहले राष्ट्रियसभा सदस्यको निर्वाचनमा मतदान नगर्ने भएका छन्। मेयर शाहका प्रमुख स्वकीय सचिव भूपदेव शाहका अनुसार आज बिहान ९ बजेबाट बागमती प्रदेशको हेटौँडामा भइरहेको राष्ट्रियसभा निर्वाचनमा मतदान गर्न मेयर शाह नजाने भएका हुन्।

    कार्यव्यवस्ताका कारण उहाँ मतदान गर्न जानहुँदैन,’ भूपदेवले भने। २०७९ वैशाखमा स्वतन्त्र उम्मेदवारका रूपमा काठमाडौँ महानगरको मेयर बनेका शाहले राष्ट्रियसभा निर्वाचनमा पहिलो पटक नै मतदान नगर्ने भएका छन्। यस्तै हाम्रो पार्टीका दुई जना प्रदेश सांसदले पनि राष्ट्रियसभा निर्वाचनमा मतदान गर्ने बताएका छन्।

    एमालेबाट निर्वाचित काठमाडौँ महानगरकी उपप्रमुख सुनिता डङ्गोल भने मतदानका लागि हेटौँडा पुगेकी छन्। बागमती प्रदेशका ४ सिटका ६ दलका १५ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्। सत्ता गठबन्धनबाट महिलातर्फ कांग्रेसका विष्णुदेवी पौडेल र अन्यतर्फ जीतजंग बस्नेत उम्मेदवार छन् भने अपाङ्गतातर्फ माओवादीका श्रीकृष्णप्रसाद अधिकारी र दलिततर्फ एकीकृत समाजवादीका घनश्याम रिजाल भिड्दै छन्।

    एमालेले महिलातर्फ रोचकुमारी चौलागाईं, दलिततर्फ ध्रुवराज विक, अपाङ्गतातर्फ त्रिलोचन निर्मल पौडेल र अन्यतर्फ विवेक देवकोटालाई चुनावी मैदानमा खडा गरेको छ।

    यता राप्रपाबाट बागमती प्रदेशमा अन्यतर्फ हेमजङ्ग गुरुङ, महिलातर्फ बालिका डल्लाकोटी र अपाङ्गतर्फ भरतमणि भट्टको उम्मेदवारी छ भने नेमकिपाले महिलातर्फ कृष्णलक्ष्मी दुवाल, दलिततर्फ सङ्गीता नेपाली, अपाङ्गतातर्फ हिमालयश्वर मूल र अन्यतर्फ श्रीकृष्ण महर्जन उम्मेदवार बनाएको छ। बागमती प्रदेशमा ११० प्रदेशसभा सदस्य र २३७ पालिका प्रमुख–उपप्रमुख गरी ३४७ मतदाता छन्।