काठमाडौँ– निर्वाचन आयोगले मौन अवधि सुरु भइसकेको समयमा मोरङको विराटनगरमा राष्ट्रिय सभा निर्वाचनको प्रचार प्रसार भएको जानकारी आएको भन्दै प्रमुख जिल्ला अधिकारीसँग प्रतिवेदन मागेको छ।
आयोगले बुधबार मोरङका प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद भट्टराईलाई एक पत्र लेखी विराटनगरमा दलहरूले गरेको गतिविधि निर्वाचन आचारसंहिता विपरीत हो कि होइन २४ घण्टाभित्र लेखी पठाउन निर्देशन दिएको हो।
यस सम्बन्धमा निर्वाचन आचारसंहिता, २०७९ को दफा १७ र निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २४ को उपदफा (५) विपरीतको कार्य भएको हो वा होइन?सत्यतथ्य बुझी २४ घण्टाभित्र आयोगमा प्रतिवेदन पेश गर्न प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रशासन कार्यालय, मोरङलाई आयोगबाट निर्देशन दिइएको छ’, आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्तिमा भनेका छन्।
आयोगका अनुसार ११ मंसिरमा हुने राष्ट्रियसभा निर्वाचनका लागि ८ माघको राति १२ बजेदेखि मतदान केन्द्र बन्द नहुन्जेलसम्म राजनीतिक दलका पदाधिकारी, दलको भ्रातृ सङ्गठन वा अन्य व्यक्ति तथा संघ संगठनले चुनाव प्रचार गर्न पाउने छैनन्।
यस अवधिमा राष्ट्रियसभा निर्वाचनसँग सम्बन्धित प्रचारप्रसार, छलफल अन्तर्क्रिया, सभा, सम्मेलन कार्यशाला गोष्ठी गर्न नपाइने व्यवस्था रहेको निर्वाचन आयोगको भनाइ छ।
तर बुधबार सत्तारुढ गठबन्धन र एमाले–राप्रपा गठबन्धनले अन्तर्क्रिया कार्यक्रम गरेका छन्। नेकपा एमाले र राप्रपाले होटलमा र सत्ताबन्धनले डाक्टर शेखर कोइरालाको निवासमा भेला गरेका हुन्। आयोगले उक्त कार्यक्रम आचारसंहिता विपरीत हो कि होइन भनेर सोधेको हो।