काठमाडौं– आज (मंगलबार) नेपाल राष्ट्र बैंकले बैंकिङ प्रणालीमार्फत ३० अर्ब रुपैयाँ तरलता प्रशोचन गर्ने भएको छ। बैैंक तथा वित्तीय संस्थाहरुमा अधिक तरलता थुप्रियसँगै केन्द्रीय बैंकले निक्षेप संकलन उपकरणमार्फत ३० अर्ब रुपैयाँ प्रशोचन गर्ने भएको हो।
यस्तै अघिल्लो हप्ता केन्द्रीय बैंकले ५० अर्ब तरलता प्रशोचन गरेको थियो।
माघ २ गतेको पछिल्लो रिपोर्ट अनुसार बैंक तथा वित्तीय संस्थाहरुले संकलन गरेको निक्षेपको आकार ६१ खर्ब २१ अर्ब रुपैयाँ रहेको छ। तर सो अवधिमा यता कर्जा लगानी भने ५० खर्ब ७४ अर्ब रुपैयाँ हारहारी मात्र देखिन्छ।
बैंक ब्याजदर, अन्तर बैंक ब्याजदर र ट्रेजरी बिलको ब्याजदर समेत साढे ३ प्रतिशत हारहारीमा झरिसकेको बेला बैंकहरुले कर्जा÷निक्षेप अनुपात (सीडी रेसिया) ८०.३९ प्रतिशत मात्र कायम गरेका छन्। यसो हुँदा हाल बैंकहरुसँग ६ खर्बमाथि लगानी योग्य पुँजी (तरलता) रहेको बुझिएको छ।
जसले गर्दा पनि केन्द्रीय बैंकले पछिल्ला दिनहरुमा रिभर्स रिपो अर्थात् निक्षेप संकलन उपकरणमार्फत लगातार बैंकिङ प्रणालीमार्फत तरलता प्रशोचन गरिरहेको छ।