काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको तयारी थालिसकेको भन्दै सकेसम्म जनमुखी बनाउने प्रतिबद्धता जनाएका छन्।
आज (मंगलबार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसहित पदाधिकारीहरूको प्रतिनिधिमण्डलसँग कुराकानी गर्दै प्रधानमन्त्री दाहालले यस्तो बताएका हुन्। यस्तै उनले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटको ढाँचा, समय र प्रक्रियामा गुणात्मक परिवर्तन गर्न लागिएकाले त्यसबाट राम्रो परिणाम आउनेमा आफू आशावादी रहेको समेत बताए।
भेटमा एमालेले गत मंसिर १४ गतेदेखि पुस १ गतेसम्म झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म सञ्चालन गरेको ‘समृद्धिका लागि सङ्कल्प यात्रा’ अभियानका क्रममा विभिन्न ठाउँमा जनताले राखेका मागहरू एकीकृत गरी नेपाल सरकारसमक्ष ध्यानाकर्षणपत्र प्रस्तुत गरेको थियो।
सो ध्यानाकर्षणपत्र बुझ्दै प्रधानमन्त्री दाहालले मध्यपहाडी क्षेत्रका विकास निर्माण, जनसेवा र समृद्धिका विषयमा एमालेले प्रस्तुत गरेको ध्यानाकर्षणले नेपाल सरकारको नीति तथा कार्यक्रम र बजेट निर्माणमा महत्त्वपूर्ण योगदान पुग्ने बताए।
प्रधानमन्त्रीको सचिवालयका अनुसार दाहालले एमालेद्वारा प्रस्तुत ध्यानाकर्षणपत्र मध्यपहाडी क्षेत्रका जनता, सबै राजनीतिक दल र नेपाल सरकारको समेत मुद्दा भएकाले सम्बोधन गर्न सकिने जति विषयहरू सम्बोधनका निम्ति सरकार गम्भीर रूपमा लाग्ने प्रतिवद्धतासमेत व्यक्त गरे।