एमालेले प्रधानमन्त्रीलाई बुझायो मध्यपहाडका ७५१ माग - Chaitanya News
  • 2026-11-14
  • 23:51:38
  • शनिबार,कार्तिक २९, २०८३
  • एमालेले प्रधानमन्त्रीलाई बुझायो मध्यपहाडका ७५१ माग

    एमालेले प्रधानमन्त्रीलाई बुझायो मध्यपहाडका ७५१ माग

    काठमाडौँ– नेकपा एमालेले मंसिर १४ देखि पुस १ गतेसम्मको ‘झुलाघाट–चिवाभञ्ज्याङ समृद्धिका लागि सङ्कल्प यात्रा’ का क्रममा जनताका माग र पार्टीले अनुभूति गरेका विषयहरूलाई समेटेर सरकारलाई लिखितरुपमा ध्यानाकर्षणपत्र बुझाएको छ।

    जसमा ७५१ वटा माग रहेका छन्। सडक, कृषि, उद्योग भवन निर्माण, खेलकुद, खानेपानी लगायतका विषय समेटिएका छन्।

    यात्राका क्रममा आएका मागपत्र र विषयहरूलाई लिएर एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरू मंगलबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेका थिए। अध्यक्ष ओलीले यात्राका क्रममा प्राप्त माग, सुझाव र अनुभूतिहरूसहितको ध्यानाकर्षण पत्र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाएको र त्यही विषयमा छलफल भएको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

    एमालेले यात्राका क्रममा विभिन्न राजनीतिक दल, उद्योगी(व्यवसायी, पालिकाहरू, स्थानीयवासी र सरोकारवालाले पेश गरेको पर्यटन, पूर्वाधार, शिक्षा, स्वास्थ्य, सामाजिक तथा आर्थिक विकासका विविध एजेण्डाहरु जस्ताको त्यस्तै सरकारसम्म पुर्‍याएको जनाएको छ।

    ‘मध्यपहाडी क्षेत्रमा विकास निर्माणका कार्यहरू ठप्प भएको देखिएको छ। बजेट विनियोजनमा विभेद भएको, भूकम्पपछिको पुन स्थापनामा सरकारले ध्यान पुर्‍याउन नसकेको, बसाइँसराई तीव्र रूपमा बढिरहेको जस्ता गुनासाहरू आएका थिए,’ उपमहासचिव ज्ञवालीले भने, ‘यी र अन्य सयौँ विषयहरू प्रधानमन्त्रीसमक्ष प्रस्तुत गरेका छौँ।’

    उनले एमालेको यात्रालाई देशभरिबाट उत्साहजनक जनसमर्थन मिलेको भन्दै आफूहरूले त्यसलाई गणतन्त्र र वर्तमान संविधानको पक्षमा आएको समर्थन भनेर बुझेको बताए।

    ज्ञवालीका अनुसार जवाफमा प्रधानमन्त्री दाहालले एमालेले यात्राका क्रममा सङ्कलन गरेका सुझावहरूलाई सरकारले गम्भीररुपमा ग्रहण गर्ने बताएका थिए।

    उपमहासचिव ज्ञवालीले प्रधानमन्त्री दाहालले एमालेले दिएका सुझावहरू, मागहरू कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएको बताए।