काठमाडौँ– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चिकित्सा शिक्षा र नर्सिङ क्षेत्रका समस्याहरू समाधन गर्न प्याकेज नै ल्याउने बताएका छन्। आज (सोमबार) प्रधानमन्त्रीको कार्यकक्ष सिंहदरवारमा नर्सिङ क्षेत्रका समस्या सम्बोधन गर्नेबारे भएको उच्चस्तरीय छलफलमा प्रधानमन्त्रीले छिट्टै चिकित्सा शिक्षा आयोगको बैठक बस्ने बताएका हुन्।
‘नर्सिङ शिक्षाको कुरा गरिरहँदा नर्सिङ र सीटीईभीटीको क्षेत्राधिकार बाझिने गरेको परिस्थिति पनि छ,’ उनले भने,‘त्यसलाई हामीले क्लियर गरेर जानुपर्छ।’
स्वास्थ्य क्षेत्र र नर्सिङ क्षेत्रका समस्याबारे बृहत् छलफलमार्फत एउटा निष्कर्षमा पुग्नुपर्ने प्रधानमन्त्रीको भनाइ थियो। ‘आयोगको बैठक बसेर हामी अध्ययन समिति नै बनाएर त्यसबारे व्यवस्थित काम गरौँ, त्यसका राष्ट्रिय योजना आयोगलाई पनि समावेश गरेर जाऔँ,’ उनले भने।
ऐनका समस्या ऐन संशोधनको प्रक्रियाबाट नै सम्बोधन गर्नुपर्ने भन्दै उनले ऐनले खोलेको बाटोको आधारमा सक्दो सम्बोधन गर्न तत्पर हुनुपर्ने बताए।