काठमाडौँ– अर्थमन्त्री डा. प्रकाशशरण महतले जनतालाई धेरैभन्दा धेरै सुविधा दिने र राजस्व बढाउने सरकारको लक्ष्य भएको बताएका छन्।
सोमबार बारा सुवर्ण गाउँपालिका सन्तगञ्जस्थित सिम्रौनगढ छोटी भन्सार नाका अवलोकन तथा निरीक्षण क्रममा अर्थमन्त्री महतले स्थानीयको आवश्यकता पूर्ति गर्ने हिसाबमा यो नाकालाई बिस्तारै अगाडि बढाउने बताएका हुन्।
आवश्यक पूर्वाधार तयार पारेर सिम्रौनगढ छोटी भन्सारलाई अझै व्यवस्थित गरिने उनले बताए। नेपाल–भारत सीमा व्यवस्थित गर्न स्थानीय पालिकाको भूमिका महत्त्वपूर्ण हुने उनको भनाइ छ।
‘दैनिक जीवनमा किनबेच–आवतजावत सहज होस् भनेर सरकार लागेको छ। यसका लागि भारतीय पक्षसँग पनि कुरा गर्नुपर्ने हुन्छ,’ अर्थमन्त्री महतले भने, ‘दोहोरो भयो भने यसले आकार र स्वरूप लिन्छ, अनि विस्तार हुन्छ।
खाद्यान्न र उद्योग व्यवसायका लागि बारा जिल्ला महत्त्वपूर्ण रहेको महतले बताए।