काठमाडौँ– कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापति आरजु देउवा राणाले सहकारीको रकम ठगी गर्नेले नै सहकारी पीडितको समस्या समाधान गर्नुपर्ने बताएकी छन्।
आज (आइतबार) समितिको बैठकमा बोल्दै उनले यस्तो बताएकी हुन्। यस्तै उनले सहकारी पीडितहरूको समस्या राज्यले समाधान गर्नुपर्ने कुराहरू बाहिर आइरहेको भन्दै राज्यले नभएर सहकारीमार्फत पीडितहरूको रकम अपचलन गर्नेहरूले गर्नुपर्ने समेत बताइन्।
उनले भनिन्, ‘ पछिल्लो समय हेरक दिन सहकारीको रकम घोटाला लगायतका समाचारहरू सुनिन्छ। सहकारी समस्याको समाधान सरकारले दिने होइन। सरकारले के–के लाई समाधान दिन्छ। जसले ठगेको छ। त्यही समूहले सहकारी बचतकर्ताको रकम फिर्ता गर्नुपर्छ।
उनले राज्यले सबै पीडितहरूको समस्या समाधान गर्न नसक्ने भन्दै ठगी गर्नेहरूबाट रकम फिर्ता गराएर समाधान गर्नुपर्ने बताइन्। उनले सहकारी ठगी गर्ने समूहलाई सहकारीका बचत कर्ताको रकम फिर्ता गर्न लगाउने तर फिर्ता नगरे कानून बजोमाजिम कारबाही गर्न आवश्यक रहेको बताइन्।
‘नेपालमा बैंक स्थापना गर्न धेरै गाह्रो छ तर सहकारी स्थापना गर्न भनेको चोर बाटो हो सजिलोसँग पैसा जम्मा गर्ने र पैसा सहज रूपमा प्रयोग गर्ने। यो सहकारीको मूल्य मान्यता र सिद्धान्त विपरीत छ। त्यसलाई नियमको दायरामा ल्याउनुपर्छ। उनले भनिन्।
उनले सहकारी पीडितको समस्या समाधान राज्यले गर्छ भनेर बस्न नहुने उल्लेख गरिन्। उनले सहकारी समस्या समाधानको लागि नीतिगत सुधारको लागि प्रधानमन्त्री कार्यालयलाई ध्यानाकर्षण पत्र लेख्ने बताइन्।