मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब पुग्यो - Chaitanya News
  • 2026-06-01
  • 08:59:43
  • सोमबार,जेठ १८, २०८३
  • मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब पुग्यो

    मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब पुग्यो

    काठमाडौँ– मुलुकको सार्वजनिक ऋणको आकार २३ खर्ब ८४ अर्ब रुपैयाँ पुगेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयका अनुसार पुस मसान्तसम्ममा भुक्तान बाँकी रहेको सार्वजनिक ऋणको सावाँ ब्याज गरी कूल २३ खर्ब ८४ अर्ब ४८ करोड ६० लाख रुपैयाँ बक्यौता रहेको हो।

    अघिल्लो मङ्सिर मसान्तसम्ममा यस्तो ऋणको तिर्न बाँकी सावाँ ब्याज २३ खर्ब ७१ अर्ब २५ करोड ९५ लाख रुपैयाँ रहेको थियो। पछिल्लो एक महिनामा ऋण भुक्तानीको दायित्व १३ अर्ब २२ करोड ६५ लाख रुपैयाँले बढेको हो।

    यद्यपि, समीक्षा अवधिमा आन्तरिक तथा बाह्य गरी कूल १ खर्ब ३१ अर्ब २८ करोड २ लाख रुपैयाँ प्राप्ति गरिएकोमा ९१ अर्ब ७६ करोड २३ लाख रुपैयाँ ऋणको सावाँ ब्याज भुक्तान गरिएको समेत कार्यालयले जनाएको छ।

    आन्तरिक र बाह्य ऋणको स्थिति
    पुस मसान्तसम्ममा भुक्तान गरेर तिर्न बाँकी रहेको ऋणमध्ये आन्तरिकतर्फको हिस्सा ५०.५ प्रतिशत रहेको छ भने बाह्य ऋणको हिस्सा ४९.५ प्रतिशतको रहेको छ। सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले उपलब्ध गराएको तथ्यांकअनुसार पुस मसान्तसम्म आन्तरिकतर्फको ऋणको सावाँ ब्याज गरी ७० अर्ब ५६ करोड ३९ लाख रुपैयाँ भुक्तानी गरिएको छ।

    भुक्तान पछि आन्तरिक ऋण हाल ११ खर्ब ९७ अर्ब ५७ करोड २२ लाख रुपैयाँ तिर्न बाँकी रहेको छ। यस्तै, समीक्षा अवधिमा बाह्यतर्फ २१ अर्ब १९ करोड ८४ लाख रुपैयाँ सावाँ ब्याज भुक्तानी गरेको सरकारले ११ खर्ब ७३ अर्ब ६८ करोड ७३ लाख रुपैयाँ तिर्न बाँकी रहेको कार्यालयले जनाएको छ।

    तथापि, वैदेशिक ऋणतर्फको हिसाबकिताब आर्थिक वर्ष २०८०–८१ को विनिमय दरको प्रभावलाई गणना नगरिएको कार्यालयले जनाएको छ। यसमा ऋण रकम खातामा प्राप्ति भएको तर कार्यालयमा पत्र प्राप्त नभएको कारण कतिपय प्राप्ति रकमसमेत फरक पर्न सक्ने ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।

    पछिल्लो महिना आन्तरिकतर्फबाट १ खर्ब ११ अर्ब ३१ करोड रुपैयाँ ऋण उठाएको छ भने बाह्यतर्फबाट १९ अर्ब ९७ करोड रुपैयाँ ऋण सापटी लिइएको कार्यालयले जनाएको छ।

    समीक्षा अवधिको कूल तिर्न बाँकी सार्वजनिक ऋणको आकार वार्षिक बजेट भन्दा १.३६ गुणा अर्थात् ६ खर्ब ३३ अर्ब १७ करोड ३९ लाख रुपैयाँले बढी हो। चालु आर्थिक वर्षको अनुमानित कूल बजेट १७ खर्ब ५१ अर्ब ३१ करोड २१ लाख रुपैयाँको रहेको छ।