अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै, नेपालमा पनि उल्लास - Chaitanya News
  • 2026-05-25
  • 08:54:35
  • सोमबार,जेठ ११, २०८३
  • अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै, नेपालमा पनि उल्लास

    अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठा हुँदै, नेपालमा पनि उल्लास

    काठमाडौं– भारतको अयोध्यामा बनाइएको राम मन्दिरको प्राण प्रतिष्ठा हुँदैछ। दिउँसो १२ः२० बजेदेखि सुरु हुने भव्य अनुष्ठानमा प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी छन्।

    प्राणप्रतिष्ठा सम्पन्न भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले त्यहाँको जनसभालाई सम्बोधन गर्ने कार्यक्रम छ। मंगलबारबाट राम मन्दिर सर्वसाधारणका लागि खुल्ला गरिने छ।

    राम मन्दिरको प्राण प्रतिष्ठालाई भव्य बनाउन उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले कुनै कसर बाँकी राखेका छैनन्। अयोध्याका सडक, सार्वजनिक स्थान लगायतलाई विशेगा रुपमा सजाइएको छ। प्राण प्रतिष्ठाको अवसरमा केन्द्रीय सरकारका कर्मचारीहरुलाई आज हाफ छुट्टीसमेत दिइएको छ।

    मस्जिद हटाएर बनाइएको थियो राम मन्दिर
    अहिले राम मन्दिर रहेको स्थानमा १६ औं शताब्दीमा बनेको बाबरी मस्जिद थियो। त्यहाँको जमिनलाई लिएर हिन्दु र मुस्लिम समुदायबीच वर्षौंदेखि विवाद थियो। सन् २०१९ मा भारतको सर्वोच्च अदालतको हिन्दुको पक्षमा फैसला सुनाएपछि मस्जिद हटाएर राम मन्दिर बनाइएको हो।

    हिन्दुहरुको आस्थाको केन्द्र मानिने सोही अयोध्यामा १६ औँ शताब्दीको बाबरी मस्जिद पनि रहेकाले सो क्षेत्र मुस्लिम समुदायको समेत पवित्र तीर्थस्थल मानिन्छ।

    हिन्दूहरुले त्यहाँ पहिले रामको मन्दिर रहेको तर मुस्लिम समुदायले त्यसलाई भत्काएर बाबरी मस्जिद बनाएको दाबी गर्दछन्। तर मुस्लिम समुदायले भने आफूहरुले १९४९ देखि नै त्यहाँ प्रार्थना गर्दै आएको बताउँछन्।

    यही विवादका बीच सन् १९९२ मा हिन्दूहरूको एक समूहले त्यहाँको बाबरी मस्जिद भत्काइदियो। त्यसपछि भड्किएको दंगामा कम्तिमा २ हजार मानिसको ज्यान गयो।

    हिंसा मत्थर भएपछि मस्जिद भत्काएको ठाउँमा हिन्दूहरूले रामको मूर्ति स्थापना गरेर त्यसको पूजा गर्न थाले। त्यसैले हिन्दु र मुस्लिम कसको हक लाग्ने भनेर त्यहाँ वर्षौंदेखि अन्योल थियो।

    तर भारतको सर्वोच्च अदालतका मुख्य न्यायाधीश रञ्जन गोगोई नेतृत्वको पाँच सदस्यीय बेञ्चले अयोध्याको विवादित जग्गामा हिन्दूहरुकै हक लाग्ने फैसला गरेको थियो। साथै ट्रष्टमार्फत मन्दिर बनाउन र मुस्लिम समुदायलाई मस्जिद बनाउनका लागि पाँच एकड वैकल्पिक जग्गा उपलल्ब्ध गराउन पनि अदालतले आदेश दिएको थियो।

    अदालतको आदेश अनुसार राम जन्मभूमि ट्रष्टमार्फत् अयोध्यामा भव्य राम मन्दिर बनाइएको हो। राम मन्दिर ७।२ एकड जग्गामा बनेको छ। मन्दिरको पूरै जग्गा भने ७० एकड छ। तीन तले राम मन्दिर बनाउन झन्डै २१ करोड ७० लाख अमेरिकी डलर खर्च भएको अनुमान छ। मन्दिरको गर्भगृहमा सवा चार फिट अग्लो रामको मूर्ति राखिएको छ।

    ट्रष्टका अनुसार मन्दिरको प्राण प्रतिष्ठा कार्यक्रममा सहभागी हुन राजनीतिक दलका नेता, प्रमुख सन्त, धर्म गुरु, नेता, कलाकार, खेलाडी, उद्योगी लगायतलाई निम्तो गरिएको छ। उनीहरु अयोध्या पुगिसकेका छन्।

    आजको समारोहलाई मध्यनजर गरी सुरक्षा प्रबन्ध चुस्त बनाइएको छ। सुरक्षा प्रबन्धमा प्रविधि प्रयोग धेरै गरिएको छ।

    केही हिन्दू सन्त नेता र विपक्षीहरुले भने राम मन्दिरको प्राण प्रतिष्ठाको कार्यक्रम बहिस्कार गरेका छन्। प्राण प्रतिष्ठालाई प्रधानमन्त्री नरेन्द्र मोदीले राजनीतिक लाभको विषय बनाएको भन्दै उनीहरु असन्तुष्ट छन।

    नेपालमा पनि उल्लास:
    अयोध्यामा प्राण प्रतिष्ठाको उल्लासमा नेपालका केही स्थानीय तहले सार्वजनिक विदा दिएका छन्। कपिलवस्तुको कपिलवस्तु, शिवराज र कृष्णनगर नगरपालिका तथा शुद्धोधन गाउँपालिकाले आज सार्वजनिक विदा दिएका छन्।

    यसैगरी रौतहटका विभिन्न पालिकाका राम मन्दिरहरुमा पूजापाठ, सरसफाइ तथा माछामासु र मदिरा बिक्री वितरण बन्द गरिएको छ।

    जनकपुरस्थित जानकी मन्दिर परिसरलाई फूल र मालाले सजाइएको छ। त्यहाँ आज सवा लाख दीप प्रज्ज्वलन गरिँदै छ।

    रामको ससुराली भनेर चिनिने जनकपुरधामस्थित जानकी मन्दिरबाट नेपालका पवित्र जलासयबाट संकलन गरिएको जल र उपहारहरु अयोध्या पठाइएको थियो।

    रामको मन्दिरमा प्रयोग गर्न भनेर नेपालको कालीगण्डकीबाट शालिग्राम समेत अयोध्या लगिएको थियो। तर त्यसको प्रयोग नगरी मन्दिर परिसरमै राखिएको छ।