काठमाडौँ– नेकपा (एकीकृत समाजवादी) को गत आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदन सार्वजनिक गरिएको छ। लेखापरीक्षण अनुसार पार्टीको आम्दानी गत आवमा आठ करोड चार लाख ५६ हजार सात सय नौ रुपैयाँ भएको छ।
पार्टीको सदस्यता, लेबी, प्रकाशन बिक्रीबाट प्राप्त रकम, सहयोग रकम पार्टीको मुख्य आम्दानीको स्रोतका रूपमा रहेको पार्टीले जनाएको छ। सोही अवधिमा पार्टीको दैनिक गतिविधि सञ्चालन गर्ने क्रममा सात करोड ८२ लाख ६८ हजार आठ सय ११ रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ।
पार्टी केन्द्रीय कार्यालयका लेखाप्रमुख खेमराज पौडेलका अनुसार २१ लाख ८७ हजार आठ सय ९८ रुपैयाँ बचत भएको छ। चालु आवको बचत र अघिल्लो वर्षको बचत मौज्दातसहित पार्टीमा हाल एक करोड ३२ लाख ४८ हजार सात सय ५६ रुपैयाँ बचत मौज्दात रहेको प्रतिवेदनमा जनाइएको छ।
पार्टीको चालु आर्थिक वर्षको लेखापरीक्षण प्रतिवेदनमा गत आमनिर्वाचनको खर्चसमेत समेटिएको लेखाप्रमुख पौडेलले जानकारी दिए। रासस