चालू वर्षको ६ महिनासम्म आयात र निर्यात दुवै घट्यो, अर्थतन्त्रमा देखिएन गतिशीलता - Chaitanya News
  • 2026-06-01
  • 08:07:57
  • सोमबार,जेठ १८, २०८३
  • चालू वर्षको ६ महिनासम्म आयात र निर्यात दुवै घट्यो, अर्थतन्त्रमा देखिएन गतिशीलता

    चालू वर्षको ६ महिनासम्म आयात र निर्यात दुवै घट्यो, अर्थतन्त्रमा देखिएन गतिशीलता

    काठमाडौँ– मन्दीतर्फ उन्मुख रहेको अर्थतन्त्रमा सुधारको सङ्केत अझै देखिएको छैन। आयातमा आधारित नेपालको अर्थतन्त्रमा आन्तरिक माग नबढ्दा आयात–निर्यात नै खुम्चिएको छ। चालू आर्थिक वर्षको पुससम्मको अवधिमा आयात ३.०९ प्रतिशत र निर्यात ७.२३ प्रतिशतले घटेको तथ्याङ्क सार्वजनिक भएसँगै अर्थतन्त्रमा गतिशीलता नदेखिएको पाइएको हो।

    यतिबेला देशको अर्थतन्त्र लामो समयदेखि शिथिलतामा छ। यस आधारमा गत आर्थिक वर्षदेखि नै निरन्तर आयात–निर्यात खुम्चँदो अवस्थामा छ। गत आर्थिक वर्ष नै घटेको आयात र निर्यातको तुलनामा चालू आर्थिक वर्षको पुस महिनासम्मको अवधिमा झनै घटेको तथ्याङ्क भन्सार विभागले सार्वजनिक गरेको हो। पुस महिनासम्मको अवधिमा नेपालमा ७ खर्ब ६८ अर्ब रुपैयाँको वस्तु आयात भएको छ।

    जबकि, गत आर्थिक वर्ष २०७९–८० को अवधिमा ७ खर्ब ९२ अर्ब रुपैयाँको वस्तु आयात भएको थियो। यो ३.०९ प्रतिशतको गिरावट हो। यस्तै, पुस महिनासम्मको अवधिमा नेपालबाट ७४ अर्ब ९६ करोड रुपैयाँको निर्यात भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा ७.२३ प्रतिशतले न्यून हो । गत आर्थिक वर्षको सोही अवधिमा नेपालबाट ८० अर्ब ८० करोड रुपैयाँको वस्तु निर्यात भएको थियो।

    आयात र निर्यात नै घटेपछि नेपालको व्यापार घाटामा भने सुधार आएको छ। चालू आर्थिक वर्ष २०८०–८१ को ६ महिनासम्मको अवधिमा २.६२ प्रतिशतले व्यापार घाटा सुधारिएको छ। यस अवधिमा नेपालको व्यापार घाटा ६ खर्ब ९३ अर्ब रुपैयाँभन्दा बढी छ। गत आर्थिक वर्षको यही अवधिमा ७ खर्ब ११ अर्ब रुपैयाँभन्दा बढी थियो। आयात र निर्यात घटेपछि यो सूचकाङ्कमा भने सुधार आएको हो।

    नेपालबाट हुने निर्यातको तुलनामा विदेशबाट हुने आयातको मात्रा ठुलो रूपमा घटेको छ। प्रतिशतका आधारमा ७ प्रतिशत निर्यात घट्दा ३ प्रतिशत मात्रै आयात घटेको देखिएको छ। तर, नेपालबाट हुने निर्यात अर्बमा र विदेशबाट हुने आयात खर्बमा छ। यस आधारमा निर्यातको तुलनामा आयात थोरै मात्रामा घट्छ। जसले व्यापार घाटा सुधारमा सहयोगी भूमिका खेल्छ।

    यस्तै, ६ महिना अवधिमा भएको आयातबाट राज्यकोषमा २ खर्ब ३६ अर्ब ९६ करोड रुपैयाँ जम्मा भएको छ। गत आर्थिक वर्षको यही अवधिमा १ खर्ब ८२ अर्ब ८४ करोड रुपैयाँ मात्रै राजश्व उठेको थियो।