रोल्पाकी २१ वर्षीया खुशीले गरिन् एक वर्षमै ७ पटक लोकसेवा पास - Chaitanya News
  • 2026-06-07
  • 15:08:41
  • आइतबार,जेठ २४, २०८३
  • रोल्पाकी २१ वर्षीया खुशीले गरिन् एक वर्षमै ७ पटक लोकसेवा पास

    रोल्पाकी २१ वर्षीया खुशीले गरिन् एक वर्षमै ७ पटक लोकसेवा पास

    काठमाडौं– रोल्पाको परिवर्तन गाउँपालिका वडा नम्बर ४ घर भएकी खुशी बुढामगरले एक वर्षमै लोक सेवा आयोगद्वारा लिइएको विभिन्न पदका सात परीक्षामा नाम निकाल्न सफल भएकी छिन। मगर हाल बर्दघाट नगरपालिका नवलपरासीमा कार्यरत छिन्। उमेरले २१ वर्ष मात्रै कटेकी उनी मत्स्य प्राविधिक पदमा कार्यरत छिन्। उनी यसअघि नायब पशु स्वास्थ प्राविधिकको रुपमा कुशे गाउँपालिका जाजरकोटको कृषि विकास शाखामा काम गर्थिन्।

    एकै वर्षमा ७ पटक लोकसेवा पास गर्न सजिलो नभएको बताउने उनले आफ्ना संघर्षका दिनहरु सम्झिएकी छिन्। राप्ती टेक्निकल कलेज लालमतिया दाङबाट ३ वर्षे पशुविज्ञान पढेकी उनले पासआउट हुनुअघि नै सरकारी जागिर खाने निधो गरिसकेकी थिइन्। त्यसैले नतिजा आउनुअघि नै उनले आफ्ना दिदीहरुले पढेका नोट अध्ययन गर्न सुरु गरिन्। उनले लोकसेवा आयोगका तयारी कक्षा पनि लिइन्।

    पासआउट हुनेबित्तिकै अझ मेहनत गरेकी उनी पहिलोपटक जाजरकोटमा पदस्थापना भएर गएकी थिइन्। त्यसपछि पनि उनले लोकसेवा पास गरेपछि हाल कार्यरत बर्दघाट नगरपालिका नवलपरासीमा काम गर्न पुगिन्। तर, उनले यही आफ्नो यात्रा टुंगाइनिन्। अझ मेहनत गर्दै गर्दा थप ५ ठाउँमा नाम निकाल्न सफल भइन्।

    उनका अनुसार सुरुमा बैशाखमा उनले कर्णाली प्रदेशले लिएको परीक्षाको पाँचौं तह लिखितमा नाम निकालेकी थिइन्। त्यसपछि जेठमा कर्णाली प्रदेशकै चौथो तहमा नाम निकालेर कुशे गाउँपालिका जाजरकोट गइन्। त्यसपछि खुसीले लुम्बिनी प्रदेशको पाँचौं तहमा र लुम्बिनीकै स्थानीय तहको परीक्षामा नाम निकालिन्। पाचौंपटक उनले सुदूरपश्चिममा पाँचौं तहमा नाम निकालेकी थिइन्। यस्तै छैठौंपटक कोशीको चौथो तह र सातौंपटक संघमा नाम निकालेको उनले बताइन्। संघीय लोकसेवाले यहि ९ गते अन्तर्वार्तामा बोलाएको बताउने खुशीले सफल भए संघीय सरकारअन्तर्गत नै रहेर काम गर्ने इच्छा व्यक्त गरेकी छिन्।

    बुवाआमा खेती किसानी गर्ने भएकाले धेरै संघर्ष गरे आफू यहाँसम्म पुगेको उनले बताइन्। ‘घरमा एकजना दाजु हुनुहुन्छ। त्यसपछि हामी ६ जना दिदीबहिनी छौं’ उनले भनिन्, ‘दाजु सरकारी जागिरे भएकाले उहाँबाटै म प्रेरित भएको थिए।’ उनका अनुसार ७ मध्ये एकदाजु र तीन बहिनी निजामती कर्मचारीको रुपमा कार्यरत छन् भने बाँकी तीन बहिनी करारमा कार्यरत छन्।

    ‘म २०७९ मा पास आउट भएको थिएँ । तर, नतिजा आउनुअघि विभिन्न तयारी कक्षा लिए। दिदीहरुका नोट पढ्ने गर्थे’ उनले भनिन्, ‘आफूले पढने विषयलाई विभिन्न सम्झिने फर्मुला बनाएर याद गर्थे। मेरो सफलताको पछाडि मिहेनतसँगै आमाबुवा र दाजुदिदीको हात छ।’