बाजुरा– बाजुराकी छाया जैशीले १० महिनाको अवधीमा लोक सेवा आयोगद्वारा लिएको लिखित परीक्षामा विभिन्न पदका ६ वटा परिक्षामा उत्तीर्ण गरेकी छन्।
जीवनमा एकै पटक यति धेरै सफलता र खुसी भेटिएला भन्ने कल्पना समेत थिएन्, छाया जैशीलाई। तर कठोर संघर्ष र दुख गर्दाको परिणामले नसोचेको खुसी र सफलता पनि मिल्ने रहेछ। त्यस्तै भयो छाया जैशीको जीवनमा पनि। उनले १० महिनाको अवधीमा ६ वटा लोकसेवा आयोगका लिखित परीक्षा पास गरिन्।
यसरी एकपछि अर्को सफलता मिल्ने कुरा उनले सोचेकी पनि थिइनन्। पढाइ राम्रै थियो। मेहनत त्यो भन्दा बढी नै गर्थीन्। तर जहाँ परीक्षा दियो, त्यहीँ पास हुन्छु भन्ने लागेकै थिएन्, जैशीले बताउँछिन्। संघर्षको फल मिलेकोमा भने उनी सन्तुष्ट छन्।
२०८० को बैशाख देखि माघसम्म ६ वटा लिखित परीक्षामा सफल भइन्। ती मध्ये कोशी प्रदेशमा मौखिम परीक्षा समेत सफल भएर सरकारी जागिर खान थालिसकिन् । हाल कोशी प्रदेश उदयपुर जिल्ला ताप्ली गाउँपालिकामा कार्यरत छन्।
बाँकी ४ वटाको मौखिक परीक्षाफल आउन बाँकी नै छ। तर उत्र्तिण हुनेमा छाया ढुक्क छन्। रातदिन नभनि तयारी गरे, आँखाको पानी सुकाए, निद्रा, भोक र प्यास हराएर किताब मात्रै धोके त्यसको प्रतिफल राम्रै आयो खुसीसाथ छायाले भनिन्। दिएका सबै ठाउँमा पास नै हुन्छु भन्ने चाहिँ लागेकै थिएन्, मेहनत गर्दा सफलता मिल्ने रहेन्, रिजल्ट आएपछि थाह पाउँ, उनले थपिन्।
अति विपन्न परिवार। ज्याला मजदुरी र खेती किसानी बाहेक अर्को विकल्प थिएन्, छायाको परिवारलाई हातमुख जोड्न। बुबा आमाले साँझ विहान खेतबारीमा काम गथ्र्ये। दिनमा बुबा महानन्द्र जैशीले ज्यालामजदुरी गरेर कमाइले सन्तानको पढाइ खर्च र लत्ताकपडाकाृ जोहो गर्नु पर्ने बाध्यता थियो।
छाया जुन विद्यालयमा पढिन्। त्यही विद्यालयको शुल्क तिर्नका लागि पनि बुबा महानन्द्र जैशीले भवन निर्माणको काम गरे वापतको रकमबाट तिरेको वास्तविकता परिवारसँग छ। बुढीगंगा नगरपालिका ६ माल्ताकी छाया, कक्षा १ देखि १२ सम्म भानुदय माविमै पढेकी हुन्।
२०७२ सालमा विद्यालयमा कृषि प्राविधिक कक्षा सुरु भयो। छायाका बुबाले जिद्दीले कृषि प्राविधिक शिक्षा नै पढ्न लगाए। विद्यालयको थोरै शुल्क तिर्न पनि परिवारसँग आर्थिक थिएन्, भानुदय माविकै भवन निर्माणको काम गरेर तिर्नु परेको दुख छायाले सुनाउने गरेकी छन्।
परिवारले विपन्नताको संकट मात्रै भोग्नु परेन्, ७ जना दिदीभाइको ठूलो भारी समेत आमाबुबाकै काँधमा थियो। छाया ७ दिदी भाइ मध्ये चौथो सन्तान हुन्। गाउँ नजिकैको विद्यालय बाहेक बाहिर लगानी लगाएर पढाउन सक्ने आर्थिक हैसियत नै थिएन्, जैशीको परिवारसँग।
तर सानै देखिको सरकारी जागिर खाने सपना भने छायाले पुरा गरेकी छन्। त्यो पनि इतिहासिक रेकर्ड नै कायम गरेर। एकै वर्ष ५ पटक लोकसेवा परीक्षा सफल भएकी भनेर गुल्मीकी मनिषा जिसीको नाम चर्चामा आइरहँदा छायाले ६ परीक्षा पास गरेकी छन्। लोकसेवा पास गर्न शहर नै जानु पर्छ, भन्ने मान्यतालाई नै छायाले चुनौति दिएकी छन्।
भेटेनरी चौथो तहमा कोशी प्रदेश सिफारिस भएकी छायाले लोकसेवा आयोजको पहिलो परीक्षा कर्णाली प्रदेशबाट सफलता प्राप्त गरिन्। गएको बैशाख ११ गते कर्णाली प्रदेशमा लिखितमा नाम निकालेपनि मौखिमपछि नाम वैकल्पीकमा मात्रै निस्कीयो। लगत्तै कोशी प्रदेशमा मंसिर ३० गते रिजल्ट आएर सिफारिस भइन्।
त्यसपछि पनि पौष २५ गत लुम्बीली प्रदेशमा भेटेनरी चौथो तह, पौष ९ गते संघिय लोकसेवा आयोग पाँचौ तह, पौष ३ गते बाग्मती पाँचौ तह र असोज १४ गते सुदूरपश्मिच प्रदेश चौथो तहमा लिखितमा नाम निकालेकी छन्। चार परीक्षाको मौखिक परीक्षाफल प्रकाशित हुन बाँकी छ। छाया सबैमा सफलता मिल्नेमा ढुक्छ।
भानुदय मावि बाजुराकै नमुना र पुरानो विद्यालय हो। कृषि प्राविधिक शिक्षालय तर्फका पनि भानुदयमै अध्ययन गरेका दर्जन बढीले लोकसेवामा नाम निकालिसकेका छन्। छायाको सफलताले सिंगो विद्यालय परिवार खुसी भएको प्राचार्य मनवीर खातीले बताए।
छायाको सफलतामा परिवारले मात्रै खुसी मनाएको छैन्, विद्यालय, समुदाय पनि खुसी र गर्वले गदगद बनेको बुढीगंगा नगरपालिकाका नगरप्रमुख रामबहादुर बानीयाँले बताएका छन्। विपन्न परिवारबाटै आफूले आर्जन गरेको शिक्षाबाट प्राप्त सफलता हालसम्मकै गर्व गर्न लायक भएकोमा आफन्त सहीत सरोकारला पनि खुसी छन्।
सफलता संघर्षले प्राप्त हुन्छ। गाउँमै बसेर पनि सफल हुन सकिन्छ भन्ने कुराको छायाले प्रमाणित गरेपछि आफन्त, विद्यालय र समुदाय स्तरमा पनि बहस सुरु भएको छ। छाया भने अरुलाई देखाउन नभई आफ्नो सपना पुरा गर्न मिलेको सफलताले खुसी छन्।