काठमाडौँ– कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। दुई वर्षको अन्तरमा कार्कीले आफ्नो सम्पत्ति घटेको विवरण सार्वजनिक गरेका हुन्।
मोरङको बुढीगंगा गाउँपालिका–२ स्थायी ठेगाना भएका कार्कीले आन्तरिक मामिला तथा कानुन मन्त्री हुँदा विराटनगरको मुख्य बजारमा सात ठाउँमा जग्गा रहेको विवरण पेश गरेका थिए। मुख्यमन्त्री भएपछि भने विराटनगरको तीन स्थानमा मात्रै जग्गा भएको विवरण पेश गरेका छन्।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सार्वजनिक गरेको सम्पत्ति विवरणमा बुढीगंगामा घर बाहेक तीन वटा घडेरी रहेको उल्लेख छ। विराटनगरमा पनि तीन वटा घडेरी र एक खेती रहेको उल्लेख छ। विराटनगर ७ मा तीन वटा घडेरी देखाएका कार्कीले वडा नम्बर ७ मै एक बिघा दुई कट्ठा जग्गा देखाएका छन्।
मुख्यमन्त्री कार्कीका घर र सबै जग्गा श्रीमती शान्तादेवी बस्नेतको नाममा छ। कार्कीले पत्नी शान्तादेवीको नाममा बूढीगंगामा रहेको १ कट्ठा साढे १२ धुर जग्गामा घर रहेको उल्लेख गरेका छन्। उनले उक्त घरजग्गा पैतृक सम्पत्ति बेचबिखन तथा जागिरबाट आर्जन गरेको उल्लेख गरेका छन्। उनकी पत्नी शान्तादेवी कृषि विकास बैंकमा कार्यरत छिन्।
कार्कीले बूढीगंगा(२ ‘क’मा पौने ९ धुर, बूढीगंगा–२ ‘क’मै सवा ११ धुर र बूढीगंगा–८ ‘ख’मा ३ कट्ठा जग्गा छ। बूढीगंगाको जग्गा जागिर, बोनस, कर्जा र सापटीबाट किनेको उल्लेख गरेका छन्।
उनकी पत्नीको नाममा विराटनगरका ४ ठाउँमा गरेर १ बिघा ६ कट्ठा सवा १० धुर जग्गा छ। विराटनगरभित्र कित्ता नम्बर ४० को २५० वर्गमिटर, कित्ता नम्बर ३० को ८८६.२५ र कित्ता नम्बर २४ को ४२६.२५ वर्गमिटर तथा कित्ता नम्बर उल्लेख नगरिएको १ बिघा २ कट्ठा सवा २ धुर जग्गा छ।
२०७८ सालमा मन्त्री हुँदा कार्कीले बुझाएको सम्पत्ति विवरणमा विराटनगर ७ मै ४१०, ४५०, ४०१ वर्गमिटरका घडेरी र १० कट्ठा जग्गा पनि रहेको उल्लेख थियो। अहिले भने उनले ती जग्गा अहिले नरहेको बताएका छन्। विराटनगरको १० कट्ठा जग्गासहितका घडेरी बिक्री गरेका कारण नयाँ सम्पत्ति विवरणमा नखुलाएको उनको सचिवालयले जनाएको छ।
कार्की परिवारसँग विवाह, उपहार तथा खरिदबाट प्राप्त भएको २५ तोला सुन र ८० तोला चाँदी छ। मुख्यमन्त्री कार्की र परिवारका सदस्यको नाममा विभिन्न बैंकमा लगभग ८ लाख नगद रहेको विवरणमा उल्लेख छ।
उनको नाममा कृषि विकास बैंकमा २० हजार ८३ रुपैयाँ ९० पैसा, उनकी श्रीमती शान्तादेवीको नाममा कृषि विकास बैंकमा ८२ हजार ५७८ रुपैयाँ ४४ पैसा र एभरेष्ट बैंकमा ३ हजार ६ सय ६० रुपैयाँ छ।
यसैगरी छोराहरू साकेत कार्कीको नाममा कृषि विकास बैंकमा ३ लाख ४८ हजार ५८४ र शाब्दिक कार्कीको नाममा ३ लाख ३९ हजार ८३६ रुपैयाँ ६९ पैसा रहेको सम्पत्ति विवरणमा उल्लेख छ।
विभिन्न ५२ वटा बैंक तथा वित्तीय संस्था तथा कम्पनीको शेयर मुख्यमन्त्री कार्की, उनकी श्रीमती र छोराहरूको नाममा छन्।
कार्कीले १ करोड ८ लाख २ हजार ऋण देखाएका छन्, जसमा ८ लाख ७० हजार मात्रै तिरेको उल्लेख गरेका छन्। सवारीसाधनमा श्रीमती शान्तादेवीको नाममा ३ लाख १८ हजारको एक थान स्कुटर रहेको देखाएका छन्।