मनिषा जिसीले गरिन् एक वर्षमा लोक सेवाका पाँच परीक्षा उत्तीर्ण - Chaitanya News
  • 2026-05-05
  • 11:17:13
  • मंगलबार,बैशाख २२, २०८३
  • मनिषा जिसीले गरिन् एक वर्षमा लोक सेवाका पाँच परीक्षा उत्तीर्ण

    मनिषा जिसीले गरिन् एक वर्षमा लोक सेवाका पाँच परीक्षा उत्तीर्ण

    गुल्मीकी मनिषा जिसी (विष्णु घर्ती) ले लोकसेवा आयोगद्वारा लिइएको विभिन्न पदका पाँच परीक्षा एकवर्षभित्रमा उत्तीर्ण गरेकी छन्। धुर्कोट गाउँपालिका–३ हाडहाडेकी जिसीले एक वर्षभन्दा छोटो समय अवधिमा परीक्षा उत्तीर्ण गरेकी हुन्।

    उनले कोशी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, लुम्बिनी प्रदेशअन्तर्गत स्थानीय स्वास्थ्य सेवातर्फ सहायक चौथो तह, बागमती प्रदेशअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह र सङ्घीय लोकसेवा आयोगअन्तर्गत स्वास्थ्य सेवातर्फ पाँचौँ तह उत्तीर्ण गरेकी हुन्।

    उनले भनिन्, “सानैदेखि नर्सिङ विषय पढ्ने रहर थियो। छात्रवृत्तिमा स्टाफ नर्स अध्ययन पूरा गरी करिब पाँच वर्ष करार सेवामा काम गरेँ।

    परिश्रमका कारण आफूलाई सफलता मिलेको उनको बताइन्। उनले एक महिना मात्र तयारी गरेर परीक्षा उत्तीर्ण हुन सफल भएको जानकारी दिइन्। “स्टाफ नर्स उत्तीर्ण गरेपछि विदेश जानेको लर्को लाग्छ”, उनले भनिन्, “रुचि र इच्छा भयो भने नेपालमै सम्भव छ, विदेशमा कामलाई खर्चिंने समय नेपालमै खर्चिएमा सफल हुन सहज छ।

    उनले स्टाफ नर्स मेडिटेक नर्सिङ कलेज बुटवलबाट विसं २०७५ मा उत्तीर्ण गरेकी हुन्। यसपछि उनले करारमा लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा तीन वर्ष र धुर्कोट प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्ष काम गरिन्। उनले माध्यामिक शिक्षा परीक्षा गाउँकै निन्युखर्क माध्यमिक विद्यालयबाट उत्तीर्ण गरेकी हुन्। उनी हाल बुटवल कालिका क्याम्पसमा स्नातक तह शिक्षा सङ्कायमा पनि अध्ययनरत छिन्। रासस