धनगढी– सुदूरपश्चिम प्रदेश सरकारले लगानी तथा विकास सम्मेलनको तयारीलाई तीव्रता दिएको छ। सम्मेलन फागुन २३ र २४ गते धनगढीमा हुने तय भएको छ।
मुख्यमन्त्री कमल बहादुर शाह संयोजक रहेको सम्मेलन मूल आयोजक समितिले लगानीकर्तासहितको निकाय, परामर्शदाता तथा विज्ञसँग छलफल अगाडि बढाएको छ। यस क्रममा समितिले लगानी सम्मेलनमा पेस हुने प्रारम्भिक परियोजना सूचीहरू तयार पारेको छ। सम्मेलन कार्यकारी समितिका सदस्य नृप सुनारले प्रदेशभरि सम्भावित परियोजनाहरू पहिचान भइरहेको बताउँदै समितिले हालसम्म ५६ वटा परियोजना पहिचान गरी प्रारम्भिक सूची तयार पारेको जानकारी दिए।
जसमा ऊर्जा, कृषि, पर्यटन, यातायात, सूचना तथा प्रविधि, उद्योग, भौतिक पूर्वाधार, खानीलगायत क्षेत्रका परियोजना र स्थान पहिचान गरिएको छ।
उद्योग व्यवसायी, बैङ्किङ क्षेत्रलगायतबाट अझै सम्भावित परियोजना माग गरेको बताउँदै कार्यकारी समिति सदस्य सुनारले सूचीमा अझै थपघट हुने बताए।
केही दिनमा ती परियोजनाका प्राविधिक पक्षबारे विज्ञहरूले गृहकार्य थाल्ने बताउँदै उनले जसबाट परियोजनाहरूको लागत, प्रतिफलको अवस्था, लगानीकर्तालाई सरकारबाट प्राप्त हुने सहुलियतलगायत विषयमा छलफल भई ठोस निष्कर्षमा पुगिने जानकारी दिए।