काठमाडौँ– प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिताको मंगलबारको खेलमा सुदूरपश्चिम प्रदेशले कर्णाली प्रदेशलाई एक सय ३४ रनको विशाल अन्तरले हराएको छ। जारी प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको यो लगातार दोस्रो जित हो।
यसअघि आफ्नो पहिलो खेलमा सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशलाई पाँच विकेटले हराएको थियो। दुई खेल खेलेको कर्णाली प्रदेशको भने यो पहिलो हार हो। यसअघि आफ्नो पहिलो खेलमा कर्णाली प्रदेशले गण्डकी प्रदेशलाई सात विकेटले हराएको थियो।
सिद्धार्थनगर रंगशालामा खेलिएको खेलमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम प्रदेशले निर्धारित ओभरमा पाँच विकेट गुमाएर दुई सय ७७ रन बनाएको थियो। निकै ठूलो लक्ष्य पछ्याउँदै जवाफी ब्याटिङमा ओलिएको कर्णाली प्रदेशले भने ३७.२ ओभरमा अलआउट हुनुअघि एक सय ४३ रनमात्र बनाउन सक्यो।
कर्णाली प्रदेशलाई सस्तोमा समेट्ने क्रममा सुदूरपश्चिम प्रदेशका बलर शेर मल्लले चार विकेट लिए। उनले १० ओभरमा ३५ रन खर्चिएका थिए। विकास अग्रीले पनि दुई विकेट हात पारे। नारायण जोशी, भोजराज भट्ट र नरेश भट्टले एक–एक विकेट लिए।
कर्णाली प्रदेशका लागि दीवान पुनले सर्वाधिक ३८ रन बनाए। उनले ५२ बलमा पाँच चौका पनि प्रहार गरे। विकेटकिपर ब्याट्सम्यान अर्जुन घर्तीले २४ रन जोडे। हिमांशु शाहीले १७ रन बनाए। दिनेश अधिकारीले पनि २० रन बटुले। कर्णाली प्रदेशका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। कर्णाली प्रदेशले अतिरिक्त रुपमा पनि २३ रन पाएको थियो।
त्यसअघि सुदूरपश्चिम प्रदेशका लागि दुबै ओपनर ब्याट्सम्यानले अर्धशतकीय पाली खेलेका थिए। खडक बोहरा र टेक रावतले ओपनिङ विकेटका लागि एक सय ३८ रनको साझेदारी गरेका थिए। खडकले ८० रन बनाए । उनले एक सय १४ बलको सामना गरी ६ चौका पनि हिर्काएका थिए। उनी प्लेयर अफ दी म्याच पनि घोषित भए।
टेकले पनि टोलीको खातामा ५९ रन थपे। उनले ९१ बलमा सात चौका पनि प्रहार गरेका थिए। सुदूरपश्चिमका लागि किरण ठगुन्नाले पनि अर्धशतक बनाएका थिए। पाँचौँ नम्बरमा क्रिज समाल्न आएका किरणले केवल ३३ बलको सामना गरी दुई छक्का र पाँच चौकाको मद्दतले ५० रन बनाए।
नारायण जोशी जोशीले पनि टोलीको खातामा अविजित ३१ रन थपे। छैटौँ नम्बरका ब्याट्सम्यान नारायणले केवल १२ बलको सामना गरी तीन छक्का र एक चौका पनि हिर्काए। चौथो नम्बरका ब्याट्सम्यान राजु रिजालले पनि १९ रन बनाए।
कप्तानसमेत रहेका राजुले ३२ बलमा एक चौका पनि हिर्काएका थिए। नरेन भट्टले पनि टोलीको खातामा १५ रन थपे। सुदूरपश्चिम प्रदेशले अतिरिक्त रुपमा पनि २३ रन पाएको थियो। कर्णाली प्रदेशका बलर दिनेश अधिकारी, युनिस सिंह, प्रकाश जैसी र दीपेन्द्र रावतले एक–एक विकेट लिए।