काठमाडौँ– गृहमन्त्री नारायणकाजी श्रेष्ठले विपद् जोखिम न्यूनीकरणका लागि नयाँ मोडेल विकास गर्न आवश्यक रहेको बताएका छन्। आज (मंगलबार) २६ औँ राष्ट्रिय भूकम्प दिवसको सन्दर्भमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। यस्तै उनले त्यसका लागि मुलुककै केन्द्रमा रहेको काठमाडौँ महानगरपालिकाले पहल लिनुपर्ने समेत उनको आग्रह गरे।
उनले अन्य स्थानीय पालिकाहरूका लागि समेत अनुकरणीय हुने गरी स्थानीय उत्थानशीलता विकास गर्ने नयाँ मोडल विकास गर्न काठमाडौं महानगरपालिकालाई आग्रह गरे।
काठमाडौँ महानगरपालिकाले विसं।१९९० साल माघ २ गते गएको विनाशकारी भूकम्पको सम्झनामा मंगलबार न्युरोडमा आयोजना गरेको स्मृति सभामा उनले महानगरपालिकाले विपद् व्यवस्थापनका लागि गरेको पहल राम्रो भएको बताए । साथै उनले भूकम्पलगायतका विपद् जोखिमबाट बच्न नयाँ मोडेलको आवश्यकता रहेको भन्दै त्यसका लागि महानगरपालिकाले प्रदेश र संघीय सरकारसँग समेत सहकार्य गर्न सक्ने बताए।
‘यी सबै कार्यको लागि संविधानले परिकल्पना गरे अनुसार संघीय र प्रदेश सरकारका साथै काठमाडौं महानगरपालिका मिलेर जोखिम न्यूनीकरण र स्थानीय उत्थानशीलता विकास गर्ने नयाँ मोडल विकास गर्न मिलेर काम गरौं । त्यो मेडेल नेपालका सबै पालिकाहरूको लागि अनुकरणीय हुन सक्छ,’ उनको भनाइ थियो।
गृहमन्त्री श्रेष्ठले काठमाडौं महानगरले विकटका पालिकालाई गरेको एम्बुलेन्स लगायतको सहयोग तथा जाजरकोट भूकम्पमा गरेको सहयोग र पुनर्निर्माण देखाएको चासोको प्रशंसा गरे।
कार्यक्रममा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेलले हरेक पालिकालाई भूकम्प लगायतका अन्य विपद्को जोखिमबाट बच्न सजग र सचेत गराउँदै काठमाडौँको मौलिक घररभवन निर्माण संरचनाको कलालाई अन्य स्थानीय पालिकामा पनि विस्तार गर्नुपर्ने धारणा राखे।
उनले काठमाडौं महानगरले सुरु गरेको आगलागी नियन्त्रणका साधन व्यवस्थापन,एम्बुलेन्स सेवा,शैक्षिक क्षेत्रको सुधार लगायतका कार्य अन्य स्थानीय पालिकाको लागि समेत अनुकरणीय भएको बताए।