सरकारले ६ महिनामा उठायो ५१५ अर्ब राजस्व, लक्ष्यको ७७ प्रतिशत मात्र - Chaitanya News
  • 2026-05-29
  • 05:30:55
  • बिहिबार,जेठ १४, २०८३
  • सरकारले ६ महिनामा उठायो ५१५ अर्ब राजस्व, लक्ष्यको ७७ प्रतिशत मात्र

    सरकारले ६ महिनामा उठायो ५१५ अर्ब राजस्व, लक्ष्यको ७७ प्रतिशत मात्र

    काठमाडौं– चालु आर्थिक वर्षको आधा समय सकिंदा सरकारले ५१५ अर्ब रुपैयाँ राजस्व संकलन गर्न सफल भएको छ।

    अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्म सरकारले कुल ६६८ अर्ब रुपैयाँ राजस्ज संकलनको लक्ष्य राखेको थियो। यसको ७७ प्रतिशत संकलन ६ महिनामा भएको मन्त्रालयका प्रवक्ता धनिराम शर्माले जानकारी दिए।

    उनका अनुसार पुस महिनामा मात्र १३४ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ। यो महिनामा आयकरको पहिलो किस्ता (४० प्रतिशत) संकलन हुन्छ।

    सोहीकारण सरकारले १८८ अर्ब रुपैयाँ संकलन हुने लक्ष्य राखेको थियो। तर, संकलन भने ५४ अर्ब रुपैयाँ कम भएको छ।

    राजस्व संकलन गत आर्थिक वर्षको यसै अवधिको तुलनामा भने १२ प्रतिशत हाराहारीले बढी भएको उनले जानकारी दिए। गत वर्ष पुस मसान्तसम्म ४ खर्ब ५९ अर्ब रुपैयाँ रजस्व उठेको थियो।

    सरकारले चालु आवमा १४ खर्ब २२ अर्ब ५४ करोड १७ लाख रुपैयाँ राजस्व संकलनको लक्ष्य राखेको छ। यस वर्ष सरकारले गत आवको तुलनामा ४० प्रतिशतभन्दा माथिको वृद्धिदर हुने अनुमानसहित लक्ष्य निर्धारण गरेको थियो। प्रवक्ता शर्माले यसअनुसार यस वर्ष पनि लक्ष्य भने पूरा नहुने देखिएको बताए।

    के मा देखियो असर

    यस वर्ष आन्तरिक अन्तःशूल्कमा सबैभन्दा बढी कमी देखिएको उनले बताए। ‘आयातमा गत आव र यस वर्ष उस्तै प्रकृतिमा राजस्व गिरावट छ,’ उनले भने, तर यस वर्ष आन्तरिक अन्तःशूल्कमा भने सबैभन्दा धेरै गिरावट आएको छ।

    आन्तरिक अर्थतन्त्र विस्तार भइरहेको संकेत राजस्व वृद्धिदरले गरेको भन्दै उनले आगामी ६ महिनाका लागि अर्थ मन्त्रालयले अब थप रणनीति बनाउने उनले बताए। ‘यो अर्थ मन्त्रालयको मात्र काम नभई समग्र सरोकारवाला निकायको जिम्मेवारी हो,’ उनले भने, ‘सोही अनुसार हामी रिभ्यू गर्छौं।

    उनका अनुसार चुरोट र वियरबाट संकलन हुने अन्तःशूल्क प्रभावित भएको छ। यसमा विद्युतीय चुरोटको प्रभाव देखिएको हुन सक्ने भन्दै यसमा पनि रिभ्यू गर्नुपर्ने उनी बताउँछन्।

    भन्सारमा विद्युतीय सवारी साधनको आयात राम्रो हुँदा अपेक्षित राजस्व संकलन हुन नसकेको विश्लेषण अर्थ मन्त्रालयको छ।