मेलम्चीको पानी काठमाडौँ आइपुग्यो, सिंहदरबारमा धारा खोलेर प्रधानमन्त्री प्रचण्डले वितरण शुभारम्भ गर्दै - Chaitanya News
  • 2026-05-29
  • 04:48:02
  • बिहिबार,जेठ १४, २०८३
  • मेलम्चीको पानी काठमाडौँ आइपुग्यो, सिंहदरबारमा धारा खोलेर प्रधानमन्त्री प्रचण्डले वितरण शुभारम्भ गर्दै

    मेलम्चीको पानी काठमाडौँ आइपुग्यो, सिंहदरबारमा धारा खोलेर प्रधानमन्त्री प्रचण्डले वितरण शुभारम्भ गर्दै

    काठमाडौँ– वर्षायाममा मेलम्ची नदीमा आएको बाढी र पहिरोका कारण खानेपानी आयोजनामा क्षति पुगेपछि बन्द भएको मेलम्चीको पानी मर्मतपछि फेरि काठमाडौँ आइपुगेको छ।

    पानी संकलन तथा प्रशोधन केन्द्र सुन्दरीजलमा दैनिक १७ करोड लिटर पानी आइरहेको छ। सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय परिसरमा रहेको धारा खोलेर मेलम्चीको खानेपानी वितरणको पुनः शुभारम्भ गर्ने भएका छन्। सोमबार बिहान वितरण शुभारम्भ गर्न लागिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जाक्की अहमद अन्सारीले जानकारी दिए।

    जसअनुसार भोलिदेखि मीनभवन र अनामनगर क्षेत्रमा पानी वितरण हुनेछ। मेलम्ची खानेपानी विकास समितिका प्रमुख अन्सारीले भने, ‘भोलिदेखि काठमाडौँको खानेपानी सिस्टममा दैनिक १७ करोड लिटर पानी आउँछ। सबै पानी सबैतिर एकैचोटी वितरण गर्न सकिँदैन, एउटा एउटा गरेर पानी भण्डारण तथा वितरण केन्द्रमा भर्ने काम भइरहेको छ। सुरुमा अनामनगर र मीनभवनको पानी भण्डारण तथा वितरण केन्द्र भर्ने काम भइरहेको छ। त्यसपछि क्रमशः खुमलटार, बालाजु, बोडे सबैतिरका खानेपानी भण्डारण केन्द्रमा पानी भरेर वितरण गरिनेछ।

    एक दुई दिनभित्र सबै ठाउँमा पानी वितरण भइसक्ने अन्सारीले जानकारी दिए। मेलम्ची खोलाबाट गत बुधवारदेखि पानी पठाउन थालिएकोमा सुन्दरीजलको पानी भण्डारण तथा प्रशोधन केन्द्रमा शनिवार साढे ८ करोड हाराहारी पानी आएको थियो। आइतबारदेखि सुरुङ पूर्ण रूपमा भरिएर १७ करोड लिटर पानी आइरहेको उनले बताए। सुन्दरीजलमा पानी प्रशोधन भएर सो परिणामको पानी वितरण प्रणालीमा जाने अन्सारीले जानकारी दिए।

    गत पुस ३ गते मेलम्ची खानेपानी विकास समितिले २८ दिनभित्र काम सक्नेगरी निर्माण व्यवसायीसँग सम्झौता गरेको थियो। त्यसपछि दिउँसो र राती गरेर दुई सिफ्टमा काम गराएर २८ दिनको कार्य योजना भन्दा अगाडि नै पानी ल्याउन सफल भएको अन्सारीले बताए।

    उनले भने, ‘अहिले हामीले पठाउन थालेको पानी अब लगातार आउँछ। पछि केही मर्मत गर्नुपर्ने भविष्यको कुरा त अनिश्चित हुन्छ। अब वर्षा अघिसम्म लगातार नै पानी आउँछ। बर्सातमा हाम्रो मुख्य संरचना सुरुङ जोगाउनका लागि दुई–तीन महिनाचाहिँ पानी नआउने हुन्छ। अब बर्सातअघि चाहिँ निरन्तर पानी आउँछ।

    काठमाडौँमा मेलम्चीको पानी आउन अव भौतिक रूपमा समस्या नभए पनि यसअघिको निर्माण व्यवसायी सीएमसीले स्थानीय ठेकेदार र व्यवसायीलाई रकम तिर्न बाँकी रहेकोले सो समस्या समाधान गर्न बाँकी रहेको छ।

    मेलम्ची खानेपानी काठमाडौँमा वितरण गर्न थालिएको ३ वर्ष भएको छ। बाढी पहिरोका कारण मेलम्ची पानी पठाउने स्थल हेलम्बु गाउँपालिकाको अम्बाथानमा पटक पटक निर्माणको काम गर्दा अर्बौँ रुपैयाँ खर्च भएको छ। २०७८ साल असार १ गते आएको बाढी पहिरोपछि काठमाडौँमा मेलम्चीको पानी नियमित रूपमा आउन सकिरहेको छैन। अघिल्लो वर्ष वैशाख र जेठ महिनामा पानी काठमाडौँ आएसँगै बर्सातमा रोकिएको थियो। बाढी पहिरोले आयोजना स्थलमा यो वर्ष पनि क्षति पुगेका कारण बन्द भएको ७ महिनापछि बल्ल काडमाडौंमा पानी आइपुगेको हो।