प्रमाणपत्र घरमै पुर्‍याइदिने लक्ष्यसहित अनलाइन सेवाको गृहकार्यमा त्रिभुवन विश्वविद्यालय - Chaitanya News
  • 2026-05-05
  • 11:17:07
  • मंगलबार,बैशाख २२, २०८३
  • प्रमाणपत्र घरमै पुर्‍याइदिने लक्ष्यसहित अनलाइन सेवाको गृहकार्यमा त्रिभुवन विश्वविद्यालय

    प्रमाणपत्र घरमै पुर्‍याइदिने लक्ष्यसहित अनलाइन सेवाको गृहकार्यमा त्रिभुवन विश्वविद्यालय

    काठमाडौँ– त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयले अधिकांश काम घरमै बसीबसी अनलाइन माध्यमबाट गर्न मिल्ने व्यवस्था मिलाउने भएको छ।

    ट्रान्सक्रिप्ट र प्रोभिजनल सर्टिफिकेट निकाल्ने, रिटोटलिङ गर्ने लगायतका अधिकांश काम अनलाइन माध्यमबाट गराउने तयारी त्रिबिले गरेको हो। यसका लागि सबै तयारी पूरा भएको र जनशक्ति व्यवस्थापनको काम बाँकी रहेको त्रिबिले बताएको छ।

    हाल परीक्षा नियन्त्रण कार्यालय बल्खुमा विद्यार्थीहरू आफैँ उपस्थित भएर बैंकमा पैसा जम्मा गर्नेदेखि फारम भरेर बुझाउने गर्नुपर्ने बाध्यता छ। अन्य सरकारी र निजी संस्थाहरूमा अनलाइनबाटै सबै काम हुने व्यवस्था भए पनि परीक्षा नियन्त्रण कार्यालयमा पुरानो र झन्झटिलो पद्धति नहट्दा विद्यार्थीहरू आजित हुँदै आएका छन्। कतिपय यही कामका लागि बिचौलियाको भर पर्नुपर्ने बाध्यता समेत छ।

    विद्यार्थीलाई परेको मारबाट आफूहरू जानकार रहेको भन्दै परीक्षा नियन्त्रक पुष्पराज जोशीले सूचना प्रविधिको उच्चतम उपयोग गरेर अनलाइन सुविधा सहितको सेवा प्रवाह गर्न जनशक्ति व्यवस्थापनको काम भइरहेको बताएका छन्।

    अनलाइनको माध्यमबाट काम भए ट्रान्सक्रिप्ट, प्रोभिजनल सर्टिफिकेट, सक्कली प्रमाणपत्र, पुनर्योग, नाम सच्याउने र ती कामका लागि बैंकमा रकम जम्मा गर्ने लगायतका सबै काम विद्यार्थीहरूले घरमै बसीबसी गर्न सक्ने जोशीले बताए।

    परीक्षा नियन्त्रण कार्यालय बल्खुले विद्यार्थीले माग गरेका प्रमाणपत्र उनीहरूको घरसम्मै पुर्‍याइदिने दीर्घकालीन लक्ष्यसहित काम गरिरहेको जोशीको भनाइ छ।