दुबई– साउदी अरबले बिहीबार नयाँ भिसा कार्यक्रम लन्च गरेको छ। तेलमाथि अर्थतन्त्रको निर्भरतालाई कम गरेर अर्थतन्त्रमा विविधीकरण गर्ने सरकारी योजना अनुसार विदेशी दक्ष कामदारहरू र लगानी आकर्षित गर्न नयाँ कार्यक्रम ल्याइएको हो।
रोजगारीको नयाँ अवसर सृजना अनि ज्ञान स्थानान्तरणमार्फत देशको आर्थिक रूपान्तरणलाई डोर्याउन यो पहल लक्षित छ,’ विज्ञप्तिमा भनिएको छ। पाँच नयाँ प्रिमियम कार्यक्रम विशेष गरी स्वास्थ्य हेरचाह, खेलकुद र रियल स्टेट समेत पेसाकर्मीहरूका लागि लक्षित गरेर ल्याइएको छ।
यी भिसामा साउदी अरब आउनेले व्यवसाय गर्ने, आफ्नो स्वामित्वमा घर जग्गा किन्ने र भिसा बाहक एवम् उसका परिवारका सदस्यको लागि वर्क पर्मिट लिने जस्ता अवसरहरू पाउनेछन्। सन् २०३० सम्ममा तेलमाथि साउदी अर्थतन्त्रको निर्भरता कम गरेर आर्थिक कायापलट गर्ने क्राउन प्रिन्स मोहम्मद बिल सलमानको भिजन २०३० अन्तर्गत यो कदम चालिएको हो।
यसमा प्रत्यक्ष लगानी अन्तर्गत अर्बौ डलर विदेशी लगानी भित्र्याउने योजना पनि छ। खाडी क्षेत्रको व्यापार र व्यावसायिक हब योजनासहत साउदी र संयुक्त अरब इमिरेट्सबिच प्रतिस्पर्धा चर्किएकै बेला साउदीले नयाँ भिसा कार्यक्रम ल्याएको हो। हालैका वर्षमा युएईका अधिकारीहरूले विश्वभरबाट अति धनाढ्यहरूलाई युएईमा भित्र्याउन सुनौलो भिसा प्रणाली ल्याउने पहलहरू गरेका थिए। एजेन्सी