काठमाडौँ– युएईसँगको पहिलो एकदिवसीय क्रिकेटमा नेपाल पराजित भएको छ। काठमाडौँको कीर्तिपुरस्थित त्रिवी मैदानमा भएको खेलमा नेपाल ८४ रनले पराजित भएको हो।
नेपालले टस जितेर पहिलो फिल्डिङ गर्ने निर्णय गरेको थियो। पहिले ब्याटिङमा आएको युएईले निर्धारित ५० ओभरमा ७ विकेट गुमाउँदै २ सय ६३ रन बनाएको थियो। २ सय ६४ रनको लक्ष्य पछ्याएको नेपाल पूरा ५० ओभर खेल्दै ९ विकेट गुमाएर केबल १ सय ७९ रनमात्र बनाउन सक्यो।
नेपालका लागि दीपेन्द्रसिंह ऐरीले ५४ तथा अर्जुन साउदले ५१ रन बनाए। गुल्सन झाले १९ र आशिफ शेखले १२ रन बनाउनुबाहेक नेपालका अन्य ब्याटरले दोहोरो अंकको स्कोर बनाउन सकेनन्।
युएईका आयान अफ्जल खानले ४ तथा बासिल हमिले २ विकेट लिए। यसअघि पहिलो इनिङ्ग्समा युएईका रोहन मुस्तफाले सर्वाधिक ५३ रन बनाएका थिए। त्यस्तै, मुहम्मद वासिमले ४४ रन जोड्दा व्रित्य अरविन्दले ४० रन बनाए।
नेपालका गुल्शन झाले ३ तथा सोमपाल कामी र दीपेन्द्रसिंह ऐरीले समान एक विकेट लिए।