धनगढी- धनगढीको शिवनगरस्थित चैतन्य एकेडेमीले अभिभावकहरूसँग अन्तरक्रिया कार्यक्रमको आयोजना गरेको छ। एकेडेमीले आदर्श अभिभावक र आदर्श विद्यार्थी विषयक अन्तरक्रिया गरेको हो।
बालबालिकाका लागि पहिलो विश्वविद्यालय उसको घर भएकाले विद्यार्थीलाई आदर्शवान बनाउन अभिभावकहरूले आदर्शकारी भूमिका निर्वाह गर्नुपर्ने एकेडेमीका निर्देशक गणेशप्रसाद जोशीले बताए। ‘विद्यार्थीलाई पढाएर प्रथम, द्वितीय, तृतीय बनाउनु मात्र आदर्श शिक्षा होइन। उसलाई नैतिकवान् र जिम्मेवार पनि बनाउनुपर्छ। त्यसका लागि विद्यालय मात्र नभएर अभिभावकको भूमिका पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ,’ जोशीले भने।
उनले विद्यार्थीलाई आदर्शवान बनाउँदा उ भोलि आदर्श अभिभावक हुने र समाज नै आदर्श हुने बताए। ‘विद्यालयले आदर्श शिक्षा मात्र नभई त्यसैले आदर्श अभिभावकमा पनि जोड दिइरहेको छ। यो अन्तरक्रियाको उद्देश्य पनि त्यही हो। त्यसका लागि विद्यालय अभिभावक शिक्षक संघका अध्यक्ष ईश्वर गिरी विद्यालय र अभिभावकबीचमा पुलको काम गरिरहनु भएको छ,’ जोशीले भने।
![]()
परिवारमा असल अभिभावक हुने व्यक्ति राष्ट्रको असल अभिभावक हुन सक्ने जोशीको तर्क थियो। उनले परिवारमै बालकदेखि वृद्ध र विभिन्न विचार समूहका मानिस हुने भएकाले असल अभिभावक बन्ने कुरा चुनौतीपूर्ण रहेको बताए। परिवारका विभिन्न उमेर र विचार समूहका मानिसलाई खुसी राख्न सक्ने व्यक्तिले समाजका प्रत्येक व्यक्तिलाई खुसी राख्नसक्ने उनको तर्क थियो।
‘कुनै बेला शिक्षालाई सूचनाको रूपमा बुझिन्थ्यो। अब यसको महत्त्व र आवश्यकता फरक भइसकेको छ। अब कुनै कुराको सूचना हासिल गर्नुमात्र शिक्षा होइन। शिक्षालाई सिर्जनाको रूपमा लिनुपर्छ,’ उनले भने, ‘अब प्रस्नको उत्तर दिने मात्र शिक्षा होइन। अबको आवश्यकता चेतनशील शिक्षाको हो। शिक्षा संस्कारको संगम हुनुपर्छ।’
जोशीले शारीरिक विकाससँगै विद्यार्थीको मानसिक, चारित्रिक र आदर्श व्यवहारको विकास आवश्यक रहेको बताए। त्यसका लागि जग बलियो बनाउन प्ले ग्रुपदेखि नै विद्यालय तथा घरमा अभिभावकले विशेष ध्यान दिनुपर्ने जोशीले बताए। त्यसैले चैतन्यमा संस्कृत शिक्षासमेत अध्ययन हुने जोशीको भनाइ छ।
कार्यक्रममा शिक्षा विद् डा. हेमराज पन्त, प्रेरक व्यक्तित्व लक्ष्मण भण्डारी, पृन्सीपल हरि जोशी, विद्यालयका संस्थापक प्राचार्य उदयप्रताप सिंहलगायतको उपस्थिति रहेको थियो।
यस्तै चैतन्य समूहकै धनगढीको देवरियास्थित जेम्स एकेडेमीमा समेत आज आदर्श अभिभावक कार्यक्रमको आयोजना गरिएको छ।
![]()