दिनहुँ बियर खाँदा आउन सक्छ यस्ता समस्या - Chaitanya News
  • 2026-05-05
  • 14:50:46
  • मंगलबार,बैशाख २२, २०८३
  • दिनहुँ बियर खाँदा आउन सक्छ यस्ता समस्या

    दिनहुँ बियर खाँदा आउन सक्छ यस्ता समस्या

    काठमाडौँ– नेपालमा मात्रै होइन विश्वभर नै धेरैले रुचाउने हल्कोहोलिक पेय पदार्थ हो बियर। साथीभाइसँग ‘चिल’ गर्न, दिनभरिको थकान मेट्न पनि पछिल्लो समय बियर पिउनेहरूको सङ्ख्या बढेको छ। नियमित बियर सेवनबारे कयौँ अध्ययन भएका छन्। केही अध्ययनले दिनहुँ बियर सेवन मुटुको लागि निकै फाइदाजनक भएको पनि भनेका छन्। तर सधैँ बियर पिउनु भनेको आफ्नो शरीरलाई रोगको घर बनाउनु हो।

    नियमित रूपमा बियर सेवन गर्नु भनेको निश्चित खालको क्यान्सर, मुटुसम्बन्धी रोग, कलेजोको रोग निम्त्याउनु हो, अनि चाँडै काललाई निम्ता दिनु पनि हो।

    बियरमा धेरै मात्रामा क्यालोरी हुन्छ। ३५५ एमएल नियमित खालको बियरमा १५३ क्यालोरी हुन्छ। यसको नियमित सेवनले तपाई मोटोपनाको सिकार बन्न सक्नु हुनेछ। तौल कम गर्न खोजिरहेकाहरूका लागि त झन् बियर सेवन घातक हुन सक्छ।

    हरेक पटक तपाईँले बियर खाँदा यो सिधै लिभरमा पुग्छ। शरीरसँग रक्सी थुपारेर राख्ने क्षमता हुन्न। यसले समग्र फ्याट बर्निङ प्रक्रियालाई सुस्त पार्छ। लिभरले निश्चित मात्रामा मात्रै रक्सी ह्यान्डल गर्न सक्छ। दिनहुँ बियर पिउँदा यसले स्थायी क्षति गराउन सक्छ।

    दैनिक बियर सेवन गर्दा डिहाइड्रेशनको सिकार भइनेछ। डिहाइड्रेशनका कारण छालासम्बन्धी समस्याहरू पनि आउँछन्। यसको असर रोग प्रतिरोधात्मक क्षमतामा पनि देखिन्छ। नियमित रूपमा बियर पिउँदा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुन्छ। बारम्बार स्वास्थ्य समस्या आइरहन्छ। यसले पाचनसम्बन्धी समस्या पनि निम्त्याउन सक्छ। यसले क्रोनिक डिजिजको जोखिम पनि बढाउँछ।

    धेरै बियर पिउनु भनेको मधुमेह र उच्च रक्तचापलाई निम्त्याउनु हो। यसको असर कलेजो र मिर्गौलामा पनि देखिन्छ। सधैँ बियर पिउँदा मुख, गाला र घाँटीको क्यान्सरको खतरा निम्तन सक्छ। कयौँ अनुसन्धानहरूले यो कुरा पनि देखाइसकेका छन्।

    नियमित बियरको सेवनले महिला र पुरुष दुबैमा अस्थी खनिज घनत्व बढाउने गरेको २०२१ मा प्रकाशित एउटा अध्ययनले देखाएको थियो। सधैँ बियर खाँदा निद्रामा पनि खलल उत्पन्न हुन सक्छ। रक्सीको मातले मस्तिष्कको दीर्घकालीन स्वास्थ्य प्रभावित बनाउन सक्छ।