यी हुन् मधुमेहका बिरामीले खाने फलफूलहरु - Chaitanya News
  • 2026-05-05
  • 14:50:51
  • मंगलबार,बैशाख २२, २०८३
  • यी हुन् मधुमेहका बिरामीले खाने फलफूलहरु

    यी हुन् मधुमेहका बिरामीले खाने फलफूलहरु

    काठमाडौँ– मधुमेह भएका व्यक्तिहरुले औषधिको साथमा खानपानमा पनि विशेष ध्यान दिन जरुरी छ। फलफूल हरेक व्यक्तिको स्वास्थ्यको लागि फाइदाजनक हुन्छ।

    मधुमेहका बिरामीले पनि आफ्नो सन्तुलित भोजनमा फलफूललाई समावेश गर्नुपर्छ। तर यिनीहरुले जुस र चिनीको मात्रा धेरै भएका फलफूलहरु भने सकेसम्म खानु हुन्न। यस्ता फलफूलको सेवन टार्दा रगतमा चिनीको मात्रा ह्वात्तै बढ्ने जोखिम कम रहन्छ।

    धेरैजसो फलफूलमा चिनीको मात्रा धेरै हुन्छ। तर यिनीहरुमा भिटामिन, मिनरल्स अनि फाइबर पनि टन्नै पाइन्छ। मधुमेहका रोगीले सीमित वा ठिक्क मात्रामा फलफूल खान सक्छन्। फलफूल सेवनको मामिलामा भने अलि बढी ध्यान दिनुपर्ने हुन्।

    आँप:
    आँप सम्झने बित्तिकै कतिपय मान्छेको मुखमा पानी आउँछ। तर मधुमेहका रोगीलाई भने आँप सम्झने बित्तिकै डर नै लाग्छ। आहार विशेषज्ञहरुका अनुसार तीन चौथाइ कप आँपबाट दैनिक रुपमा चाहिने फाइबरको ७ प्रतिशत पाइन्छ । फाइबरले रक्त प्रवाहमा चिनीको अशोषणलाई सुस्त बनाउँछ। यो ग्लुकोजको व्यवस्थापनका लागि पनि जरुरी छ। मधुमेहका रोगीले सीमित मात्रामा आँप खान सक्छन्।

    सुन्तला:
    सुन्तलाको रसमा चिनी निकै मात्रामा हुन्छ। त्यसैले यसको रस पिउनु मधुमेहको रोगीका लागि ठिक हुन्न। सुन्तलामा भिटामिन सी उच्च मात्रामा पाइन्छ। मध्यम आकारको सुन्तलामा तीन ग्राम फाइबर हुन्छ । फाइबरले लामो समयसम्म पेट भरिएको महसुस गराउँछ। यो तौल र ग्लुकोजको व्यवस्थापनमा पनि सहायक हुन्छ।

    खरबुजाः
    खरबुजाको स्वाद ठिक्कदेखि अति नै गुलियो हुन सक्छ। तर यसमा पूरै चिनी हुन्न। एक कप खरबुजामा ९ ग्राम प्राकृतिक चिनी हुन्छ। यो भनेको एक कप काटिएको स्याउमा पाइने भन्दा कम चिनी हो। मधुमेहका बिरामीले थोरै मात्रामा खरबुजा खान सक्छन्।

    एभोकाडोः
    तपाईँलाई पनि मधुमेह छ भने गुलियो खानेकुराको सेवनमा विशेष ध्यान पुर्‍याउनु पर्ने हुन्छ। रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)का अनुसार मधुमेह भएकाहरुलाई मुटुसम्बन्धी रोगको खतरा दोब्बर हुन्छ। एभोकाडो यस्तो फल हो जसले मधुमेहका रोगीलाई धेरैथरी स्वास्थ्य लाभ दिन सक्छ। अधिकांश अन्य फलहरुको विपरीत एभोकाडोमा शून्य बराबर चिनी हुन्छ। यसले ग्लाइसेमिक प्रतिक्रियालाई प्रभावित गर्दैन।

    केरा:
    मधुमेहका बिरामीका लागि केरा पनि खराब मानिने फल हो। तर काँचो केरामा टन्नै स्टार्च पाइन्छ। यसमा चिनीको मात्रा कम गर्ने अनि इन्सुलिन प्रतिरोधसँग लड्न मद्दत गर्ने फाइबर पनि हुन्छ। मधुमेहका बिरामीले थोरै मात्रामा केरा पनि खान सक्छन्। एजेन्सी